• ५ जेठ २०८१, शनिबार

ललितपुर महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी : कुन नगरमा कसको जित ?

blog

ललितपुर, जेठ १० गते। ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ।  महानगरको मतगणनास्थलबाट प्राप्त तथ्यांक अनुसार उहाँले ४२ हजार ९२९ मत प्राप्त गर्नुभयो। महर्जनले १२ हजार ९४३ मतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्याञ्जनकारलाई पराजित गर्नुभयो। व्याञ्जनकारले २९ हजार ९८६ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४ हजार ५५२ मतसहित विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यलाई पराजित गर्नुभएको हो। बज्राचार्यले १७ हजार ५८८ मत प्राप्त गर्नुभएको छ। ललितपुर महानगर प्रमुखमा यसअघि २०७४ सालमासमेत कांग्रेसका महर्जन निर्वाचित हुनुभएको थियो। 

कुन वडामा कसकाे जित ?

ललितपुर महानगर–१ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेश कुमार महर्जन, ३ मा नेकपा (एस) का श्रीगोपाल महर्जन, ४ मा नेपाली कांग्रेसका सन्तोष खड्का, ५ मा नेकपा (एमाले) का विकास मान श्रेष्ठ, ६ मा कांग्रेसका रुपेन्द्र राज शाक्य, ७ मा कांग्रेसका कुल बहादुर महर्जन, ८ मा कांग्रेसका बाबु रत्न महर्जन, ९ मा कांग्रेसका राजु महर्जन, १० मा कांग्रेसका रविन मान ब्यञ्जनकार, ११ मा कांग्रेसका अरोज कुमार खड्गी, १२ मा एमालेका नारायण लाल अवाले, १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी, १४ मा कांग्रेसका अमृत जंग महत, १५ मा एमालेका सुरेश बहादुर साही विजयी हुनुभएको छ। 

महानगरको वडा नम्बर १६ मा कांग्रेसका निर्मलरत्न शाक्य, १७ मा एमालेका विनोद महर्जन, १८ मा एमालेका दामोदर खड्का, १९ मा एमालेका राजेन्द्र महर्जन, २० मा कांग्रेसका चन्द्रलाल महर्जन, २१ मा नेकपा (माओवादी केन्द्र) का रविन्द्र महर्जन, २२ मा एमालेका सागर तुलाधर, २३ मा एमालेका जीवन महर्जन, २४ मा एमालेका दिनेशजंग पाण्डे, २५ मा एमालेका दौलत कुमार खत्री, २६ मा माओवादी केन्द्रका सुरेश महर्जन, २७ मा माओवादीका कृष्णहरि महर्जन, २८ मा कांग्रेसका महर्जन, २९ मा एमालेका गणेश महर्जन विजयी हुनुभएको छ।

महानगरको २९ वडामध्ये कांग्रेसले ११, एमाले ११, माओवादी तीन, नेकपा एकीकृत समाजवादीले दुई र स्वतन्त्र दुई वडामा विजय भएका छन्। 

ललितपुरका कुन नगरमा कसकाे जित ?

ललितपुर जिल्लाका तीन गाउँपालिकामध्ये कोन्ज्योसोमको अध्यक्षमा नेकपा (एमाले)का कृष्ण मान लामा र उपाध्यक्षमा कांग्रेसका राजनप्रसाद घिमिरे, बाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर, महाङ्काल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी र उपाध्यक्षमा माओवादीका डोल्मा माया गोले विजयी हुनुहुन्छ। 

यसैगरी, गोदावरी नगरप्रमुखमा कांग्रेसका गजेन्द्र महर्जन र उपप्रमुखमा कांग्रेकी मुना अधिकारी विजयी हुनुहुन्छ। महालक्ष्मी नगरप्रमुखमा हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी महर्जन विजयी हुनुभएको छ। 

महानगर प्रमुख र उपप्रमुखको अन्तिम मतपरिणाम निर्वाचन आयोगबाट औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।