धीरेन्द्रप्रसाद साह
जनकपुर, पुस २९ गते । मधेश प्रदेशका जिल्लाहरुमा मङ्गलबार तिला सङ्क्रान्ति मनाइने भएकोले यसको यत्रतत्र रौनक छाएको छ । तिला संक्रान्तिका दिनदेखि तिलको दाना आकारमै रात छोटो र दिन लामो हुँदै जाने बुढापाकाहरुकाे भनाइ छ ।
यस पर्वलाई माघे सङ्क्रान्ति , मकर सङ्क्रान्ति , तिला सङ्क्रान्ति नामले चिनिन्छ । माघको पहिलो दिन अर्थात् १ गते सबै जातजातिले मनाइने तिला सङ्क्रान्तिको विधि र प्रक्रिया फरक भए पनि उद्देश्य र मान्यता साझा नै रहेको पण्डित बद्रीनारायण झा बताउनुहुन्छ । तराई मधेशका मिथिलावासी, थाररू समुदाय, बातर समुदायसहित अन्य समुदायमा सङ्क्रान्तिलाई पर्व एवम् उत्सवको रुपमा मनाइने गरिएको मनोज माझीले बताउनुभयो ।
यस पर्वमा परिवारका ठूलाबडा र आमा–बाबुले आफ्ना सन्तानलाई सख्खर (स्थानीय भाषामा गुर) र तिल मिसाएर कम्तीमा तीन पटक खुवाउने गरिन्छ । सन्तानहरुबाट आमाबुवाले बुढेसकालसहित आजीवन सहारा भई सेवा गर्नुपर्ने वचनबद्धता व्यक्त गराउने गरी तिल गुर खुवाउने चलन रहेको वयोवृद्ध शान्तिदेवीले बताउनुभयो ।
यस पर्वमा खिचडी, तिल, चिउरा तथा भुजा (मुरही)का लडडु (स्थानीय भाषामा लाई) लगायतका परिकारहरु तयार पारी पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाएर खाने र खुवाउने संस्कार रहेको उहाँले बताउनुभयो । धार्मिक मान्यता अनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लडडु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लडडु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाउने चलन रहेको गृहिणी रामकुमारी देवीले बताउनुभयो।
खिचडी पर्व पनि भनिने यस दिन तिल तथा सख्खरबाट बनाइएको लडु, चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल(सिदा), नुन, बेसार, तरकारी, घिउ र दही, आफ्ना लागि वा पितृहरूका लागि सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्ने चलन रहेको पण्डित झाले भन्नुभयो, मकर सङ्क्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्ति हुन्छ ।
सुयोग्य वर प्राप्तिको कामनाका लागि यसै पर्वका दिनलाई दिने गरिन्छ । मैथिल कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने न्यानो लुगा पठाइदिने परम्परा मैथिलीमा जडाउर भनिन्छ । यसै दिनदेखि माघस्नान सुरू गरेर माघ महिनाभर एकाबिहानै नुहाएर श्रद्धासाथ घिउखिचडी खाने चलन छ ।
पौराणिक मान्यता र विभिन्न ग्रन्थ अनुसार यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुन्छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ भने माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पापबाट मुक्ति पाउने विश्वास रहेको रामकुमार शास्त्रीले बताउनुभयो ।
तिला सङ्क्रान्तिमा आत्मीय प्रेम, सामाजिक सद्भाव, शारीरिक ऊर्जा, पोषण प्राप्तिसँगै पापबाट मुक्ति पाउने विश्वास छ भने सङ्क्रान्तिका लागि बनाइएको परिकार छरछिमेकमा बाँडीचुँडी खाने चलनलाई सामाजिक सद्भाव, प्रगाढ मित्रताको प्रतीकको रुपमा लिने गरिन्छ । यसैबेला गरिब, निःसहाय, विपन्नलाई अन्न, तिल, गुड आदि दान गर्ने चलनले पुण्य मिल्ने धार्मिक विश्वास छ । माघ १ गतेलाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिँदै आएको छ ।