• २९ पुस २०८१, सोमबार

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

blog

क्वारेनटाइनविहीन महाकाली भन्सार कार्यालय झुलाघाट । तस्बिर: गोकर्ण दयाल

गोकर्ण दयाल   

बैतडी, पुस २९ गते । पश्चिमी सीमा नाका झुलाघाटस्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुलाघाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।   

भारततर्फको सीमा चेकपोस्टमा भने अन्तर्राष्ट्रिय विमानस्थल जतिकै सुरक्षा व्यवस्था खेप्न सकिन्छ । त्यहाँ डिजिटल स्क्रिनिङ मेशिन, तालिमप्राप्त कुकुर र जनशक्ति तैनाथ गरिएको छ । नेपालतर्फको सुरक्षा पोस्टमा भने प्रविधिका नाममा एउटा टेबुल, रजिस्टर र डटपेन मात्र देखिन्छ । 

झुलाघाट सीमा नाकामा क्वारेनटाइन र डिजिटल स्क्रिनिङ मेशिन आवश्यक भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,“ नाकामा महाकाली भन्सार कार्यालय छ तर, क्वारेनटाइन छैन । क्वारेनटाइन नहुँदा भारतबाट भित्रिने खाद्यान्नको गुणस्तर र विषादी परीक्षण हुन सकेको छैन । प्राविधिक कर्मचारी र उपकरण आवश्यक भएको कुरा विभागमा जानकारी गराइसकेका छौँ ।“ 

विवाहको सिजनमा कार्ड देखायो भने तरकारी भित्रिन दिने गरेको झुलाघाट सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक गङ्गाराम टमटाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ विवाहको सिजनमा कार्ड हेरेर मात्रै तरकारी भित्रिन दिने गरेका छौँ । व्यावसायिक रूपमा तरकारी आउँदैन । नेपालबाट पहिले घिउ पैठारी हुने गर्दथ्यो । पछिल्लो समय भारतबाट घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु आउने गरेको छ । नेपालबाट भारततर्फ कृषि उपज निर्यात हुँदैन ।” 

झुला घाट सीमा नाकाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या भने बढेको छ । यहाँबाट दैनिक दुई सयको सङ्ख्यामा नेपालीहरू भारत जाने गरेका छन् ।  झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार पुस १ गतेदेखि २७ गतेसम्म दुई हजार पाँच सय नेपाली भारत गएका छन् । रोजगारीका लागि भारत जानेमा महिलासमेत छन् । पुसमा मात्रै ८४६ महिला भारत गएका छन् । 

झुलाघाट नाका भएर भारतबाटसमेत किनमेल र मन्दिर दर्शनका लागि पुस महिनामा ५०५ जना भारतीय नागरिक नेपाल आएका छन् । नेपाल प्रवेश गरेका ५०५ जना मध्ये ३७६ जना फिर्ता भएका छन् । अन्य भारतीय बैतडी सदरमुकाममा कपाल काट्ने, सिरक डसना बनाउने कामका लागि बसेको पाइएको छ ।