• २९ पुस २०८१, सोमबार

बदलिँदो थारु समाज र साहित्यक विषयक् गोष्ठी

blog

‘बदलिँदो थारु समाज र साहित्य’ बिषयक कार्यक्रममा बोल्दै थारु अगुवा । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २८ गते । साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले माघी पर्वको पूर्वसन्ध्यामा कोहलपुर नगरपालिका अन्तर्गतको थारु गाउँ रझेनामा ‘बदलिँदो थारु समाज र साहित्य’  बिषयक बिचारगोष्ठी सम्पन्न गरेको छ ।  

सो कार्यक्रममा थारु समुदायका अगुवा तथा वरिष्ठ साहित्यकार डा कृष्णराज सर्वहारी र डा. राजकुमार चौधरीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमार्फत् थारू साहित्यको इतिहास र वर्तमानबारे डा. सर्वहारीले बिस्तृत रुपमा प्रकाश पार्नुभयो । 

उहाँले पहाडी मूलका लेखकले थारू भाषा र साहित्यमा सक्रियता देखाउने तर थारू लेखकहरूले अपेक्षाकृत नलेख्नु दुःखलाग्दो विषय भएको बताउनुभयो । अर्का अगुवा डा. राजकुमार थारूले बदलिंदो समय र युगको बेला थारू मौलिक संस्कृतिको महत्व नयाँ पुस्तालाई सिकाउन जरूरी भएको बताउनुभयो । 

थारु साहित्यकार शेखर दहितले दुबै कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यपत्रहरु निकै महत्ववूर्ण रहेको भन्दै विश्वव्यापीकरण र समयको मागअनुसार विकास र परिवर्तन हुने भए पनि संस्कृति नै मौलिक पहिचान हो भन्ने समाजले कहिले पनि भुल्न नहुने बताउनुभयो । 

थारु जाति र माघी पर्वको महत्व एकअर्कासँग प्रगाढ रूपमा गाँसिएको जनाउँदै माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व भएकोले सो पर्वले उनीहरूको जीवनशैली, संस्कृति र इतिहासलाई प्रतिबिम्बित गरिरहेको वक्ताहरुको भनाइ थियो । 

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य सन्जुकुमारी चौधरी, नेपाल पज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, साहित्यकार प्रकाश मरासिनी र कशेव निमेष  लगायतले बोल्नु भएको थियो । 

बरघर, गुरुवा लगायत थारू समुदायका साहित्यकार, पत्रकार र स्थानीयको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा थारु नृत्य पनि प्रस्तुत गरिएको थियो । नयाँ तरिकाले पर्वलाई गाँसेर गरिएको कार्यक्रम सफल भएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालले बताउनुभयो ।