सन्तोष सुवेदी
कास्की, पुस २८ गते । पोखरा महानगरपालिका–३२ ढोडबेंसीका ईश्वर अधिकारीलाई अहिले फुर्सदै छैन । बिहानै उठ्नुहुन्छ घरको काम अनि नजिकै रहेको उखु भट्टीमा जानुहुन्छ अनि त्यसको खुदो बनाउनुहुन्छ । अधिकारी मात्र होइनन् यतिबेला ढोडबेंसीका किसानहरु दिनरात नभरी उखु पेल्नमै व्यस्त अवस्थामा भेटिन्छन् ।
ठूलो बाँसको झाडी आडैमा रहेको सानो झुप्रो । झुप्रोमा छ वटा ठूलो भाँडामा उखुको रस पाकिरहेको छ । पुस र माघ महिना उखुको सिजन भएर नै उनीहरु उखुबाट खुदो बनाउन न चिसो न रात नै भन्ने गर्छन् । तीन रोपनी जग्गामा उखु खेती गरेका अधिकारी दुई लाख रुपियाँ आम्दानी गर्नुहुन्छ ।
उखु खेती गर्न दुःख हुँदा चाहेर पनि धेरै उत्पादन गर्न नसकिएको उहाँले सुनाउनुभयो । "उखु लायो, खुदो बनाउनै दुःख छ । खुदो पकाउन रातभरि बस्नुपर्दा निकै गाह्रो हुने गरेको छ," अधिकारीले भन्नुभयो।
त्यहाँ झन्डै ५० घरधुरीले उखु खेती गर्छन् । वर्षदिनको एकपटक हुने उखु खेती व्यावसायिक रुपमा दुःख भए पनि यसको माग निकै हुने गरेको किसानहरु बताउँछन् । अधिकारीका अनुसार अहिले उखुको खुदो मानाको दुई सय र एक टिनको पाँच हजार पाँच सय रुपियाँ पर्ने गर्छ । उहाँले खुदो बनाए पनि बजारको अभाव रहेको गुनासो पोख्नुभयो । "खुदो लिनभन्दा पनि ठाउँ–ठाउँमा पुर्याउन सहज छैन । यसको प्रचारको आवश्यकता छ । किसानहरु खुदो बनाउने तर बजार भएन भने उत्पादन घट्ने देखिन्छ," उहाँले भन्नुभयो । ढोडबेंसीमा उत्पादन भएको उखुको खुदो कास्की, लम्जुङ, तनहुँ जिल्लामा मात्र पुग्ने गरेको छ ।
स्थानीय लक्ष्मण ओझाले उखु मनपर्ने खेती रहेको सुनाउनुभयो । "उखु खेती मन पर्छ । उखुको खुदो बेचेर एक वर्षदिनलाई पुग्ने कमाइ हुन्छ । पहिला–पहिला जस्तो उत्पादन त गर्न सकिएको छैन । बुढापाकाले थोरै खेतमा उखु लगाउने गरेको पाइन्छ," उहाँले भन्नुभयो । यो सिजनमा ६० हजारदेखि २ लाख सम्म कमाइ गर्न सकिन्छ उहाँले बताउनुभयो ।
उहाँले सरकारले कृषिका लागि सहुलियत दिनुपर्ने बताउनुभयो । नयाँ प्रविधिबाट खुदो फिल्डर गर्ने मेसिनको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । पहिला–पहिला गोरुको माध्यमबाट उखु पेलेको स्मरण गर्दै वाग्लेले अहिले मेसिनले केही मात्रा भए पनि सजिलो बनाएकोमा खुसी साट्नुभयो । "खुदो बनाउन झन्डै ५–६ घण्टा कुर्नुपर्छ । यसमा सहजता भयो भने उखु उत्पादन गर्नेहरु बढ्छन्," उहाँले भन्नुभयो ।