• २८ पुस २०८१, आइतबार

प्रयोगमा आएनन् शीतभण्डार

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस २८ गते । सिन्धुली जिल्लाका विभिन्न भागमा दातृ निकायको सहयोगमा निर्माण गरिएका शीतभण्डार प्रयोगमा आउन सकेका छैनन् । 

कमलामाई नगरपालिका–४, दोभानटार, गोलन्जोर गाउँपालिका–५, नाकाझोली र सुनकोशी गाउँपालिका–५, रामटारमा निर्माण गरिएका शीतभण्डार बर्सौंदेखि प्रयोगमा आउन सकेका छैनन् । सिजनमा उत्पादन भएका तरकारी तथा फलफूल भण्डारण गरी बेमौसममा उपभोक्तामाझ पुर्‍याउने मुख्य उद्देश्यसहित निर्माण गरिएका ती शीतभण्डार उपकरण, प्राविधिक ज्ञान, व्यवस्थापनको अभाव र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा प्रयोगमा नआएको स्थानीय बताउँछन् ।  

सिजनमा फलेका जुनारलाई भण्डारण गरी गर्मी मौसम (बेमौसम) मा पनि उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले नाकाझोलीमा १० वर्षअघि निर्माण गरिएको शून्यशक्ति शीतभण्डार प्रयोगमा ल्याउन प्राविधिक समस्या रहेको सञ्चालक तथा स्थानीय जुनार किसान शेरबहादुर मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिजनमै जुनार बगैँचाबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ । २०६८ सालतिर नेपालमै अहिलेसम्मको उच्चस्तरीय प्रविधिको २४ मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माण भएको हो । त्यस क्षेत्रमा उत्पादित जुनारलाई भण्डारण तथा व्यवस्थापनका लागि सार्क डेभलपमेन्ट फन्ड र नेप्लिज फार्मिङ इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा करिब ६० लाख रुपियाँको लागतमा उक्त भण्डार निर्माण भएको थियो ।

“निर्माण पूरा भएपछि २०७० सालतिर एक साल जुनार भण्डारण गरी राख्यौँ,” जुनार किसान मगरले भन्नुभयो, “भण्डारण गरी राखेको जुनारमध्ये प्राविधिक ज्ञानको कमीले १० प्रतिशत जति कुहियो । त्यसपछि जुनारले सिजनमा नै राम्रो मूल्य पाउन थालेपछि भण्डारण गर्न किसानले नै चासो दिन छाडे ।” हावा र पानीका भरमा सञ्चालन हुने यो शीतभण्डारमा विद्युत् आवश्यक नपर्ने बताइएको छ । 

त्यस्तै सुनकोशी गाउँपालिका–५, रामटारमा निर्माण गरिएको शीतभण्डार डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

बागमती प्रदेश सरकार र पालिकाको गरी पाँच करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण गरिएको पाँच सय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माण कम्पनीले हस्तान्तरण नगर्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइराला शीतभण्डार निर्माण पूरा गरेको डेढ वर्षभन्दा बढी हुन लाग्दा पनि निर्माण कम्पनीले नबुझाएको बताउनुहुन्छ । पालिकाले एक जना कृषि प्राविधिकलाई तालिम दिएर शीतभण्डार सञ्चालन गर्ने तयारी गरे पनि नबुझाएकै कारण सञ्चालनमा ल्याउन नसकेको उहाँको गुनासो छ ।

इजी इन्फ्रा प्रालिले उक्त शीतभण्डार निर्माण ठेक्कामा लिएकोमा निर्माण कम्पनीले मन्त्रालय र मन्त्रालयले पालिकालाई हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ छ ।

कमलामाई नगरपालिका–४, दोभानटारमा निर्मित शीतभण्डारको अवस्था पनि उस्तै छ । मुख्य गरी जुनारलाइ नै भण्डारण गर्ने भनिए पनि एक करोड रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सञ्चालनमा नआउँदा किसान र उपभोक्ता दुवै निराश छन् । झन्डै १० वर्षअघि निर्माण भएको भवनमा दुई सिजन जुनार तथा आलु भण्डारण गरिएको थियो । त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको सञ्चालकको भनाइ छ ।

शीतभण्डार प्रयोगमा नआउँदा जुनार, तरकारी तथा अन्य फलफूल भण्डारण गरी बेमौसममा बिक्री गर्न नपाएको गुनासो किसानको छ । शीतभण्डार भवन निर्माणसँगै उत्साहित किसान यतिखेर निराश बनेको स्थानीय जुनार किसान हरिबाबु गजुरेल बताउनुहुन्छ । 

जुनार विकास सङ्घका अनुसार लागतमध्ये जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन समयमा साबिक जिविस, गाविस र जुनार उत्पादक किसानबाट जुटाइएको हो । जुनार उत्पादनका लागि नेपालमै पहिलो रहेको सिन्धुली जिल्ला त्यही उत्पादनलाई नै लक्षित गरेर शीतभण्डार निर्माण भएको थियो । 

शीतभण्डार सञ्चालकसमेत रहेका जुनार विकास सङ्घका पूर्वउपाध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार सुरुका वर्षमा समयमा नै बिमा र विद्युत् मिटर जडान गर्न नसक्दा शीतभण्डार प्रयोगमा आउन नसकेको हो । अहिले भने शीतभण्डारकै जमिनमा जुस उद्योग निर्माणाधीन रहेकाले प्रयोगमा आउन सकेको छैन ।