गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । नेपाल र भारतका वाणिज्य अधिकारीले दुई देशको व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौँको चन्द्रागिरिमा शनिबार सम्पन्न नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबिएफ) को दोस्रो बैठकले दुई देशबिचको व्यापार सहजीकरणमा सहमति जनाएका हुन् ।
नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गका रूपमा रहेको जेबिएफ बैठकमा दुई देशका प्रतिनिधिबिच व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो । छलफलले केही महत्वपूर्ण विषयमा सहमतिसमेत निर्माण गरेको छ ।
संयुक्त बैठकले जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बिउ तथा प्रविधि उपलब्ध गराउने विषयमा सहमति भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसार ढकालले जानकारी दिनुभयो । त्यस्तै औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायतका विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको उहाँले बताउनुभयो । सहमति भएका विषयको माइन्युटलाई दुवै देशका सचिवहरूलाई हस्तान्तरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबिचको अन्तर्क्रिया कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले दुवै देशबिच आयातनिर्यातमा देखिएका समस्याको समाधान सहज ढङ्गले हुने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चको बैठकबाट प्रस्तुत भएका विषयहरूको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
भारतका वाणिज्य सचिव सुनील बर्थवालले जेबिएफमा उठेका एजेन्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबिचको आर्थिक मुद्दाहरूमा यो बैठक महìवपूर्ण रहेका बताउँदै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो ।
महासङ्घ अध्यक्ष ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताउनुभयो । दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल भारतबिच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताउनुभयो । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ ।