• २८ पुस २०८१, आइतबार

प्रकोपले सुन्तला कृषक आम्दानीविहीन

blog

बगैँचामा सुक्दै गएको रित्तो बोट देखाउँदै कृषक । तस्बिर : इमानसिं राना

रामपुर समाचारदाता

रामपुर (पाल्पा), पुस २८ गते । कुनै समय निस्दी गाउँपालिका–५, बहपुरका कृषकलाई मङ्सिर र पुसमा सुन्तला टिप्न र बजार पठाउन भ्याइनभ्याइ हुन्थ्यो । लटरम्म फलेका सुन्तला बगैँचाले भरिएको बहपुरले सुन्तलापुरको पहिचान बनाएको थियो ।

बोटबाटै सुन्तला खरिद गर्न जाने व्यापारी र घुम्न जानेको लर्को लाग्ने यहाँको बगैँचा अहिले रित्तो छ । बोट सुक्न थालेपछि अधिकांश कृषकका बगैँचामा बोटसमेत देख्न मुस्किल छ । पाँच/छ वर्षदेखि फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या देखिएपछि यहाँका बगैँचा खाली हुँदै गएका हुन् । 

सुन्तलाबाटै वार्षिक चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी लिनुभएका अगुवा कृषक तेजन सुनारीले पाँच वर्षयता कमाइ शून्य रहेको बताउनुभयो । “सुरुवातमा गाउँको तल्लो भागको केही बोटमा समस्या देखिएको थियो,” उहाँले भन्नुभयो, “रोगको प्रकोप बढ्दै जाँदा बगैँचामा बोट नै देख्न नपाइने अवस्था आएको छ ।” थप जग्गा किनेरसमेत सुन्तला लगाएका सुनारीले उत्पादन दिइरहेको तीन सय र नयाँ बिरुवासहित छ सयभन्दा बढी सुन्तलाका बोट अधिकांश मरिसकेको बताउनुभयो ।

स्थानीय कृषक मानबहादुर ढेङ्गाले अधिकांश बोट सुकेको बताउनुभयो । उहाँले बोटका हाँगा सुक्ने, फल साना लाग्ने, अमिलो हुने, कुहिने र झर्ने समस्या देखिएको जानकारी दिनुभयो । उहाँले बाहिरबाट ल्याएर र बिरुवा उत्पादन गरेर तीन सयभन्दा बढी बिरुवा लगाउनुभएको थियो । 

“पाँच वर्षको अवधिमा रोगले अधिकांश बगैँचा रित्तो बनाएको छ । १६ घरमध्ये माथिल्लो भागमा रहेका दुई घरका बगैँचा मात्र बचेका छन्,” उहाँले भन्नुभयो । 

बहपुरमा २०७५ सालअघिसम्म २२५ रोपनी जमिनमा तीन हजार छ सय सुन्तलाका बोट थिए । सुन्तला पकेट कार्यक्रम लागु भएपछि अन्नबाली फल्ने थप बारीलाई बगैँचाका रूपमा विस्तार गरी छदेखि सात हजारसम्म बोट पुर्‍याइएको थियो । जसमध्ये अधिकांश बोट मरिसकेको छ । समस्या समाधानका लागि विभिन्न निकायलाई जानकारी गराए पनि समयमै समाधानको उपाय नपाउँदा बगैँचा रित्तिएको कृषकले बताएका छन् । अहिले कृषक बिरुवा हटाएर चार/पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा पुगेका छन् ।

कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बगैँचा व्यवस्थापन समयमै नगर्दा जिल्लाका विभिन्न स्थानमा भाइरसजन्य रोगको समस्या देखिएको बताउनुभयो ।