• २७ पुस २०८१, शनिबार

विद्यालयमा चलचित्र साक्षरता कार्यशाला

blog

कार्यक्रममा सहभागी विद्यार्थी र आयोजक ।

काठमाडौँ, पुस २७ गते। बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र ती विद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सीप सिकाउन थालेको छ। 

सञ्चार रजिष्ट्रारको कार्यालयले सोमबारदेखि ललितपुरको जावलाखेलस्थित आफ्नै कार्यालयमा पाँच वटा सामुदायिक विद्यालयका २० जना विद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराएर पहिलो पटक पाँच दिने चलचित्र साक्षरता कार्यशालाको शुक्रबार समापन गरेको हो। 

समापन कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने जीवनपयोगी सीप सिकाएर भविष्यमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताउनुभयो। विद्यालयस्तरमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न कार्यक्रमले मद्दत पुग्ने मन्त्री लामिछानेले बताउनुभयो। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक विद्यालयका विद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको हो। 

विद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौँका चार वटा सामुदायिक विद्यालय र भक्तपुरको एक सामुदायिक विद्यालयमा अध्ययरत २० जना विद्यार्थी र पाँच जना शिक्षकलाई मन्त्री लामिछानेले प्रमाणपत्र वितरण गर्नुभएको थियो। 


सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार शिक्षक र विद्यार्थीले चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभूत सीप सिकेका छन्। 

सापकोटाका अनुसार बागमती प्रदेशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक महत्त्व झल्किने, प्रदेशको पर्यटन र संस्कृति प्रवर्द्धन गर्न योगदान पुग्ने, परम्परागत ज्ञान र सीप प्रतिबिम्बित हुने सिर्जनात्मक, भावनात्मक तथा सन्देशात्मक र कलात्मक चलचित्र, वृत्तचित्र उत्पादन, निर्माण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम आयोजना गरेको हो।  


प्रशिक्षार्थीलाई चलचित्र निर्माण, पटकथा लेखन, उत्पादनका बारेमा प्राविधिक पक्षका साथै सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएर नयाँ जनशक्ति तयार गर्ने ध्येय राखिएको रजिष्ट्रार सापकोटाले बताउनुभयो।