काठमाडौँ, पुस २७ गते । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको शीर्षस्थान थप बलियो बनाएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई ३–१ गोलले हरायो । एपिएफको यो चौथो जित हो । जितसँगै एपिएफले १२ अङ्क बनाएको छ । पहिलो हार खेपेको आर्मी सात अङ्कसहित दोस्रो स्थानमा छ ।
एपिएफको जितमा कप्तान अनिता बस्नेत, निशा थोकर र प्रिती राईले गोल गर्नुभयो । आर्मीका लागि विमला थापाले सान्त्वना गोल फर्काउनुभयो । यसअघि पहिलो चरणको लिगमा एपिएफले आर्मीलाई २–१ गोलले हराएको थियो ।