• २७ पुस २०८१, शनिबार

रामपुरमा मनाइयो पृथ्वी जयन्ती

blog

सलामी अर्पण गर्दै नेपाली सेना । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), पुस २७ गते । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । जिल्लाको रामपुर नगरपालिका–६, विजयपुरमा शाहको सालिकमा शनिबार माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

ठकुरी दर्शन समाज रामपुर नगर समितिको अगुवाईमा भएको कार्यक्रममा नेपाली सेनाको दि फेमस महिन्द्र दल गण तानसेनबाट आएको सेनाको एक टुकडीले सलामी अर्पण समेत गरेको छ । त्यसअघि भेषभूषमा सजिएका ठकुरी समुदायका विभिन्न समूह र नेपाली सेनाले विजयपुर बजार, बुद्ध पार्क र्‍यालीसहित नगर परिक्रमा गरेको थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदाधिकारी, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियन्ताहरुको पनि सहभागीता रहेको थियो ।

नेपाली सेनाको सलामी अर्पण पश्चात सालिकमा माल्यार्पण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भुमिका कै कारण नेपाल वर्तमान अवस्थामा रहेको बताउनुभयो । शाहले दिनुभएको दिव्य उपदेश हालसम्म पनि जीवन्त रहेको बताउनुभयो । शाहले नेपालको भुगोलसँगै समुदायलाई एकतावद्ध गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले राष्ट्रिय एकता दिवस सबै जातजाति र भाषा संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण दिन भएको बताउनुभयो। ठकुरी दर्शन समाज रामपुरका अध्यक्ष केशर बहादुर खाँणले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भुमिका तथा इतिहास रक्षाका लागि कार्यक्रम गर्दै आएको बताउनुभयो ।