• २७ पुस २०८१, शनिबार

हरिहरपथमा देवघाट महिमा

blog

चितवनको सदरमुकाम भरतपुर चौबिसकोठीबाट सात किलोमिटर उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गम स्थल देवघाटधाम धार्मिक स्थल छ । चितवन र तनहुँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तुप, सिद्धिगणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थल छन् । यस पुण्यभूमिका बारेमा हिमवत्खण्ड नेपाल माहात्म्यमा महादेव शङ्कर आफ्ना गणसाथ यसै क्षेत्र बसेको कुरा उल्लेख छ ।

चितवन, तनहुँ र नवलपुर तीन वटा जिल्लामा गरी करिब पाँच हजार ४३४ हेक्टर क्षेत्रमा देवघाट क्षेत्र फैलिएको छ । यस क्षेत्र अन्तर्गत देवघाट हरिहर क्षेत्र, शालग्राम क्षेत्र, चक्रतीर्थ, वराह क्षेत्र, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, तपोवन, प्रयाग, सिद्धाश्रम यज्ञभूमिलगायत पर्दछन् ।

यस क्षेत्रमा माघेसङ्क्रान्तिको मेलामा भारतदेखि तीर्थालु भक्तजन आउने चलन छ । साउन महिनामा देवघाटधाममा स्नान गर्न लाखौँ भक्तजन आउन थालेका छन् ।  अंशु वर्मा (विसं ६६१–६७७) देखि पाल्पाली राजा मणिमुकुन्दसेन (विसं १५५३–१६२२) सम्म सबैले देवघाटधामलाई भारतसँगको व्यापारिक मार्गदेखि धार्मिक स्थलका रूपमा लिएको पाइन्छ । प्राचीनकालमा ऋषिमुनिहरूले यस्तै ठुला नदीको सङ्गम र पर्वतका टाकुरालाई आफ्नो तपस्या र साधनका लागि रोज्ने गरेको धार्मिक ग्रन्थमा उल्लेख पाइन्छ । वेदमा समेत देवघाटधाम जस्ता पवित्र नदीको सङ्गमलाई बौद्धिक ऊर्जाको उद्गम स्रोत मानिएको छ । ऋग्वेदमा सितासिते सरिते यत्र सङ्गते तत्राप्लुतासो दिवमाव्रजन्ति (ऋग्वेद) अर्थात् दुई काला सेता नदीको सङ्गम भएको ठाउँमा स्नान गर्नाले देवलोकमा पुगिन्छ भनेर देवघाटधामलाई नै सङ्केत गरिएको हो भन्ने विद्वान्हरूले राय व्यक्त गरेका छन् । यी वेदोक्त महìवलाई पछ्याउँदै पुराणले पनि देवघाटधामको महìव मुक्तकण्ठले गाएका छन् । देवताहरू घुमघाम गर्न आउने भएकाले यस क्षेत्रलाई देवघाट भनिन्छ भन्ने पद्मपुराणको भनाइ छ । वशिष्ठ ऋषिलगायत अनेकौँ ऋषिमुनि देवघाटधाममा आई तपस्या गरेको कुरा गण्डकी माहात्म्यमा उल्लेख गरिएको छ ।  

वराहपुराणकै एकअर्को प्रसङ्गमा यहाँका मुख्य १५ वटा महìवपूर्ण तीर्थका बारे चर्चा गरिएको छ । ती गण्डकीतटवर्ती देवघट्टतीर्थाम रहेका पन्ध्र अवान्तर तीर्थ क्षेत्रमा विल्वप्रभ तीर्थ, चऋस्वामी तीर्थ, विष्णुपद क्षेत्र, कालिह्द, शङ्खप्रभ, गदा कुण्ड, अग्निप्रभ तीर्थ, सर्वायुध क्षेत्र, देवप्रभ क्षेत्र, विद्धाधर क्षेत्र, पुण्य नदीतार्थ, गन्धर्व तीर्थ, देवह्द, सिद्दाश्रम र शभुतपोवन रहेका छन् । यी पूर्वोक्त सबै तीर्थ देवघाटमा नै रहेका छन् । 

हिमवत्खण्डमा उल्लेख भए अनुसार देवघाटधाम सबै नदी मिलेको पवित्र तीर्थ मानिन्छ जहाँ स्नान गर्नाले पृथ्वीमा भएका अरू तीर्थभन्दा करोडौँ गुणा बढी फल मिल्छ । 

देवघाटधामकै सम्बन्धमा ऋग्वेदको यो मन्त्रले सङ्केत गरेको छ :

सितासिते सरिते यत्र सङ्गते तत्राप्लुतासो दिवमाव्रजन्ति ।

ये वै तन्वं विसृजन्ति धीरास्ते जनास अमृतत्वं भजन्ति ।।

जहाँ सेता (शुक्ला) र काला (कृष्णा) नदी भेट भएका छन् त्यहाँ स्नान गर्ने व्यक्ति स्वर्गमा प्राप्त हुन्छ । ऋग्वेदको यसै मन्त्रका आधारमा सेता र काला नदी गङ्गा र यमुनाको सङ्गम भएको र देवताले यज्ञ गरेको हुनाले प्रयाग नाम रहेको र यसको महìव भएको मानिन्छ । वास्तवमा त्यो वेदोक्त लक्षण देवघाटधाममा पूरै मिल्ने भएको हुनाले देवघाटधामलाई आदिप्रयाग भनिएको हो ।

हरिहर परिपथ

दामोदर कुण्डबाट बगेर आउने विष्णुमूलक (हर) कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूली पवित्र धार्मिक स्थल देवघाटधाममा भेट भएकाले यही हरिहर क्षेत्रका सम्पदा समेटेर धार्मिक प्रवर्धन गर्न हरिहर परिपथ निर्माण गरिएको हो । कालीगण्डकीको सामीप्यमा रहेको मुक्तिनाथ, दामोदर कुण्ड, रहुघाट, रिडी आदि तीर्थस्थल विष्णुको प्रतीकका रूपमा लिइएको पाइन्छ । त्रिशूली, वेत्रावती, बुढीगण्डकी, दरौँदी, मस्र्याङ्दी, सेती,  मादी र सप्तकोशीलाई शिवको प्रतीकका रूपमा मानिएको छ । कुल २४२ किलोमिटर लम्बाइ रहेको कालीगण्डकी नदी प्रणालीमा एक हजार २५ हिमनदी, तालतलैया मिसिएका छन् । कालीगण्डकीले आफ्ना दुवै किनारमा अनेक सभ्यता र सांस्कृतिक मानवबस्ती समेटेको छ । ल्होमन्थाङ, रानीमहल, मुकुन्दसेन दरबार जस्ता ऐतिहासिक स्थल, तातोपानी, थाकखोला, त्रिभुवनटार जस्ता पुरातात्त्विक स्थलहरू, जोमसोम, वेणी रिडी, नारायणगढ, गोलाघाट जस्ता मानव सभ्यताका बस्ती हरिहर परिपथमा पर्छन् । यसै गरी भारतको सुनौलीदेखि चीन जोड्ने मुस्ताङको कोरला नाका कालीगण्डकी कोरिडोर अन्तर्गत ४३५ मिलोमिटर लामो परिपथ जसले भारतीय र चिनियाँ दर्शनार्थीको आवागमनमा सहजता प्रदान गर्दछ । यसरी नै देवघाटधामकेन्द्रित हरिहर परिपथलाई रामायण परिपथसँग सञ्जाल विस्तार गरेमा देवघाटधामको महत्व अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन हुन्छ । अन्नपूर्ण र धौलागिरि दुई हिमाल तथा हिमशृङ्खला, हिमताल, विश्व प्रसिद्ध रुप्से झरना, संसारकै गहिरो गल्छी अन्धगल्छी, तातोपानीका कुण्ड, नदी तथा घाट,  शालग्राम मन्दिरहरू, निकुञ्ज एवं मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू आदि हरिहर परिपथका प्रमुख पर्यटकीय आकर्षण हुन्छन् । 

हरिहर परिपथमा पर्ने प्रमुख धार्मिक स्थलहरू दामोदर कुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वरधाम, पञ्चकोटधाम, कुडुले, शालग्राम सङ्ग्र्रहालय, बागलुङ कालिका, पुलह आश्रम, सहस्रधारा, गलेश्वर गुफा, मोदीवेणी, ज्यामिरघाट, पूर्तिघाट, सेतीवेणी, रुद्रवेणी, भैरवस्थान, रानीघाट, राम्दीघाट, केलादीधाम, देवघाटधाम, शिवघाट, कालिका, ब्रह्मस्थान, भोजबाबा, गजेन्द्रमोक्षधाम, वाल्मीकि आश्रम त्रिवेणीधाम आदि हुन्छन् । यसै गरी हरिहर परिपथमा पर्ने सांस्कृतिक सम्पदामा थकालीको तोरन्लह मगर जातिको यानिमयाँ, सालैजो, मारुनी, सङ्गिनी, आर्य जातिको भजन, बालुन, सवाइ, थारू जातिको फगुवा, जितिया, कुमाल जातिको पाङधुरे तथा विभिन्न जातजातिका मौलिक धर्म, संस्कृति परम्परा रीतिरिवाज रहेका छन् । हिमाली क्षेत्रमा बौद्ध र बोन धर्म, हिमाली संस्कृति, गुम्बा संस्कृति मौलाएको छ । पहाडी क्षेत्रमा मठमन्दिर, आश्रम, बगर, मेला, घाट, तीर्थ आदि सांस्कृतिक सम्पदा रहेका छन् । हिमाली पहाडी तथा मैदानी संस्कृतिले सम्पन्न कालीगण्डकी सभ्यता अनेकतामा एकताको प्रतीक पनि हो । जसले अनेक जात, धर्म, भाषा, वेशभूषा, चाडपर्व, मेला, लोकगीत, लोकदोहोरी, नृत्य, लोकचलन, लोककथा आदि सांस्कृतिक सम्पदालाई समेटेको छ । विश्वमा सर्वप्रथम धार्मिक क्षेत्रको दर्शनबाट पर्यटनको सुरुवात भएको छ । धार्मिक सम्मेलनमा सहभागी हुन, स्नान गर्न, धार्मिक खोज, अध्ययन, अनुसन्धान गर्न, धार्मिक कार्यक्रममा भाग लिन, आध्यात्मिक चिन्तन मनन गर्न, दर्शन गर्न वा धार्मिक यात्रा गर्ने उद्देश्यले विभिन्न पवित्र स्थलको भ्रमण गर्ने व्यक्तिलाई धार्मिक पर्यटक भनिन्छ । सो भ्रमणसम्बन्धी यातायात, आवास, रेस्टुरेन्ट, घुमफिर आदि क्रियाकलापलाई धार्मिक पर्यटन भनिन्छ । 

नेपालका प्रमुख धार्मिक स्थलमा पशुपतिनाथ, मनकामना, देवघाटधाम, चतराधाम, पाथीभरा मन्दिर, वराहक्षेत्र, मुक्तिनाथ, बागलुङकालिका, स्वर्गद्वारी, लुम्बिनी, कपिलवस्तुलगायत पर्दछन् । हरिहर परिपथसँग सञ्जाल स्थापित गर्दै नेपालका अन्य धामको संयुक्त प्रवर्धन गर्न सकिन्छ । चितवनका धार्मिक स्थलमा अतिक्रमण भई संरक्षणमा चुनौती देखिएको छ । सीमित बजेट साना पूर्वाधारमा, अधुरा निर्माण कार्य, सरकारी चासोको कमी, शुद्ध शाहाकारी भोजनालय र आवासको कमी, प्रचारप्रसारको अभावलाई सरोकारवाला निकायले समयमै व्यवस्थापन गर्नु पर्दछ ।

देवघाटधाममा वर्षभरि नै धार्मिक कार्य भइरहन्छन् । विभिन्न जातजातिका कुलदेवताका मन्दिरमा नेपालभरिबाट ध्यान, जप, श्राद्ध, व्रतबन्ध, चौरासी पूजा आदि गर्न भक्तजन देवघाटधाममा आउँछन् । देवघाट क्षेत्र विकास समिति, रोटरी क्लब अफ चितवन, गैरआवासीय तथा विभिन्न आश्रमद्वारा सञ्चालित ज्येष्ठ नागरिक आश्रम, गुम्बा, संस्कृति विद्यालय, गौशाला, आश्रम आदिको सुरक्षित केन्द्र देवघाटधाम धेरै असहायको आवास क्षेत्र पनि हो । वैशाख सङ्क्रान्तिमा स्नान गर्न साउन महिनाभरि बोलबम यात्रा, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशी, मङ्सिर महिनामा सतबिउ छर्ने, पुस शुल्क पूर्णिमादेखि माघ शुल्क पूर्णिमासम्म श्रीस्वस्थानी व्रत वा माघेसङ्व्रmान्तिमा मेला भर्न यसै गरी फागुन महिनामा शिवरात्रि पूजाआजाका लागि देवघाटधाममा स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन सहभागी हुन्छन् ।  यसरी भारतको चारधाम वा नेपालको जुनसुकै धाममा दर्शन गरे पनि देवघाटधाममा स्नान गरेर मात्र मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने कुरा ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएकाले देवघाटधाम हिन्दुको सर्वोत्कृष्ट पावन स्थल हुन गएको छ ।

  

Author

विश्वराज सुवेदी