गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । वरिष्ठ पत्रकार तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारिता पेशामा छिर्न सहज भए पनि टिक्न निकै कठिन रहेको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागको दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित आठौं मिडिया टक सेरिजमा शुक्रबार उहाँले भन्नुभयो, “म पत्रकारितामा आएको करिब ३२ वर्ष भयो, तर यस पेशाप्रति अझै सन्तुष्ट हुन सकेको छैन । समाज परिवर्तन गर्ने सोचसहित पेशामा लागे पनि काम गर्न अझै सकिएको छैन ।”
समाज परिवर्तनका लागि पत्रकारिता पेशा उचित भए पनि काम गर्न निकै चुनौती रहेको उहाँको भनाइ छ । पत्रकारिता क्षेत्रमा सन्तुलित र स्वतन्त्र पत्रकारको खडेरी भएकाले सोचेजस्तो परिवर्तन सम्भव नभएको उहाँको बुझाइ छ । पत्रकारितामा रहेका पत्रकार कुनै न कुनै दल र विचारसँग आवद्ध भएकै कारण पत्रकारिता पेशा र पत्रकारप्रति समाजको नजरिया फरक रहेको उहाँले चर्चा गर्नुभयो ।
हरेक पत्रकारसँग वैचारिक सोच रहनसक्ने भए पनि पत्रकारिताको धर्म, नैतिकताप्रति पत्रकार सचेत हुनैपर्ने उहाँको सुझाव छ । पत्रकारिता क्षेत्रको योगदानले मुलुकमा ठुला परिवर्तन सम्भव भए पनि सोचेअनुसार परिवर्तन अझै नभएको उहाँले बताउनुभयो ।
पत्रकारिताप्रतिको विश्वास दिनप्रतिदिन खस्कदै जानुमा पत्रकारको कार्यशैली, विचार र व्यवहार कारक रहेको बताउँदै वरिष्ठ पत्रकार प्रधानले भन्नुभयो, “परिवर्तन पत्रकारिता पेशाबाट भागेर त सम्भव नहोला, संघर्ष गरेरै सम्भव हुन्छ । तर अहिलेको पत्रकारिताको गति र सोचले परिवर्तन सम्भव हुँदैन ।” न्यूमिडियाको विकास द्रुत गतिमा भए पनि विश्वसनीयता कायम नभएको उहाँले बताउनुभयो ।
सो अवसरमा पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्याल, दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो । विभागमा अध्ययनरत दर्शनाचार्यका विद्यार्थीले हरेक शुक्रकार वरिष्ठ पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दैआएका छन् ।