गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा विदेशी विश्वविद्यालयको पढाइ सञ्चालन गरिरहेका शिक्षण संस्थाको शैक्षिक क्रियाकलापमा कडाइ गरेको छ ।
विदेशी डिग्री प्रदान गर्ने नाममा नेपालमा सञ्चालित त्यस्ता संस्थाले विद्यार्थीलाई ठग्ने तथा प्रचलित नीतिगत व्यवस्थासमेत उल्लङ्घन गर्दै शैक्षिक क्रियाकलाप गर्ने क्रम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कडाइ गरेको हो । मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै त्यस्ता संस्थाका लागि १० बुँदे निर्देशनसमेत जारी गरेको छ ।
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ मा टेकेर जारी गरिएको निर्देशनको पूर्ण पालना नभए कानुन अनुसार कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुशासनमा राख्न तोकिएको डिसिप्लिन इन्चार्ज (डिआई) हटाएर परामर्श कक्ष स्थापना गरी विद्यार्थीलाई उचित परामर्श प्रदान गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्कको विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी राख्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेस गर्न तथा शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यव्रmम निर्धारित स्थानमा मात्र सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यक्रम निर्धारित स्थानमा मात्र सञ्चालन गर्न, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दा पारदर्शी र निष्पक्ष रूपमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्न तथा सोको विवरण शिक्षण संस्थाको वेबसाइटमा सार्वजनिक गर्ने र मन्त्रालयमा अनिवार्य रूपमा विवरण पेस गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।