• २७ पुस २०८१, शनिबार

अपाङ्गता भएकालाई घरमै परिचयपत्र

blog

सुजल श्रेष्ठ 

प्युठान, पुस २६ गते । जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहितको टोलीले घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको हो । उनीहरु हिड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि परिचयपत्र दिन घरमै गएको पोखरेलले बताउनुभयो । यसअघि पनि पालिकाले पूर्ण अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र दिएको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

अपाङ्गता भएका ब्यक्तिले चार प्रकारको परिचयपत्र पाउने ब्यबस्था छ । अपाङ्गताको प्रकृतिको आधारमा क, ख, ग र घ वर्गको परिचयपत्र दिने ब्यवस्था रहेको राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमानसिंह केसीले बताउनुभयो ।

क बर्गले मासिक ३ हजार ९ सय ९०, ख बर्गले मासिक २ हजार १ सय २८ रुपियाँँ सामाजिक सुरक्षा भत्ता पाउने गर्दछन । ग र घ वर्गले मासिक भत्ता नपाए पनि राज्यका बिभिन्न निकायमा छुट सेवा पाउने केसीको भनाइ छ । झिमरुक गाउँपालिकाले गरेको काम सराहनीय रहेको भन्दै जिल्लाका अरु पालिकाले पनि पूर्ण अशक्तलाई घरमै पुगेर वितरण गर्नुपर्ने उहाँको सुझाव छ । 

ुनीतिगत व्यबस्था पनि छ, उहाँले भन्नुभयो, अरु पालिकाले पनि कार्यान्वयन गर्न जरुरी छ ।ु जिल्लामा परिचयपत्र वितरण गर्दा एकरुपता हुन नसकेको उहाँको भनाइ छ । नीतिमा एकरुपता भएपनि बितरणमा फरक देखिएको सदस्य केसीले बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिको सही पहिचान हुन नसक्दा उक्त समस्या भएको केसीले बताउनुभयो । दक्ष जनशक्तिको अभाव र राजनीतिक प्रभाव समेत देखिन्छ, उहाँले भन्नुभयो ।

जिल्लामा कान र आँखाको विशेषज्ञ चिकित्सक नहुँदा परीक्षण गर्न बुटवल काठमाडौं जानुपर्ने बाध्यता समेत रहेको छ । जसलेगर्दा अपाङ्गता भएका ब्यक्ति परिचयपत्र पाउनबाट बन्चित भएको केसीले बताउनुभयो । उहाँले भन्नुभयो, यसमा हामीले पनि सहजीकरण गरिरहेका छौँ । जिल्लामा करिब  छ हजार अपाङ्गता भएका ब्यक्ति छन ।