राधाकृष्ण डुम्रे
वालिङ, पुस २६ गते । स्याङ्जामा सातौं स्याङ्जा महोत्सव हुने भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी फागुन ६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो।
पुतलीबजार नगरपालिका–१ स्थित खेलमैदानमा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला आयोजना गर्न लागिएको सङ्घका महासचिव रविन केसीले जानकारी दिनुभयो।
स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्नु महोत्सव मुख्य उद्देश्य रहको सङ्घका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन घट्दै गएको र भएका उत्पादनको पनि सहज रुपमा बजारीकरण हुन सकेको छैन ।” कृषि र पर्यटनलाई मुख्य रुपमा मानेर महोत्सव गर्न लागेको उहाँको भनाइ छ ।
यसैबिच महोत्सवलाई सफल बनाउन महोत्सव सचिवालयको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य दीपक लम्सालले महोत्सव सचिवालयको शुभारम्भ गर्नुभएको हो ।