• २६ पुस २०८१, शुक्रबार

कागजमा खानेकुरा नखाऔँ

blog

भाइबहिनीहरू, तपाईंहरू दिउँसो स्कुलमा खाजा के के खानुहुन्छ ? कसैले क्यान्टिनमा खाजा खानुहुन्छ होला । कसैले घरबाटै खाजा लैजानुहुन्छ होला । कसैले स्कुलबाहिरका होटेल, पसल वा ठेलामा बेच्न राखिएका खानेकुरा खानुहुन्छ होला । बाहिर खान मन लागेमा वा खानु परेमा खानेकुरा कस्तो ठाउँमा पकाइएको छ, कस्तोमा दिइएको छ, त्यो चाहिँ ख्याल गर्नु पर्छ है ? 

घरबाहिरका चल्तीका केही खाजाबारे छलफल गरौँ । होटेल, खुला पसल वा क्यान्टिनमा समोसा, मालपुवा, सेलरोटी, निम्किन, पकौडा, आलु चप पाइन्छ । आलुचना, पोलेको मकै, जेरी, चना चटपट, भटमास, खरबुजा, काँक्रा, मेवा, भुइँकटहर पनि बेच्न राखिएको हुन्छ । बिक्रेताले कतिपय खानेकुरा स्टिल वा प्लास्टिकको प्लेटमा खानेकुरा दिने गरेका हुन्छन् । कतिपय खानेकुरा पत्रिका वा प्रयोग भइसकेका कापी, किताबका पानामा पोको पारेर दिने गरेका हुन्छन् । खानेकुरालाई केमा राखेर दिइएको हुन्छ भन्ने कुरामा वास्ता गर्दैनौँ र मजाले खान्छौँ । 

पत्रिका वा किताब छापिँदा, बजारमा पुग्दा, मान्छेले पढ्दा र पढिसकेर मिल्काउँदा धेरै मान्छेको हातको सम्पर्कमा आइसकेको हुन्छ । हातमा अनेक किटाणु हुन सक्छन् र ती किटाणु पत्रिकामा सर्न सक्छन् । घर घरमा पुराना कागज लिन आउनेले साइकलमा राखेर जाँदा बाटाभरिका धुलोमैलो त्यसैमा टाँसिन्छ । विभिन्न ठाउँमा कागज पठाउँदा पनि धुलोमैलो टाँसिन्छ । खुला गाडीमा पत्रिका वा किताब मिल्काउँदा त्यसमा कति धेरै फोहोर टाँसिएला ? अनुमान गर्नुस् त । घरमा पत्रिका वा किताब पढिसकेर खात लगाएर कुनामा मिल्काएर राख्ने गरिन्छ । त्यसरी राख्दा धुलो पनि टाँसिइसकेको हुन्छ । यसैले ध यस्ता कागजहरू थोरै ओसले पनि ढुसी परिहाल्छन् । ढुसी आँखाले देखिने वा नदेखिने दुवै खालका हुन्छन् । त्यसले तत्काल पेट दुख्ने, वान्ता हुने समस्यालगायत पेटको सङ्क्रमण हुन सक्छ । 

पत्रिका वा किताबमा रङ्गीचङ्गी तस्बिर, विज्ञापन, चित्र, कार्टुन र अनेक समाचार छापिएका हुन्छन् । ती तस्बिर, समाचार छाप्न मसीको प्रयोग गरिन्छ । छाप्ने मसीमा अनेकन रसायन हुन्छ । पत्रिका छापिने कागज प्रायःजसो पातला पनि हुन्छन् । कतिपय पत्रिकामा मसी पहिल्यै लतपतिएको पनि हुन्छ । पढ्न र ज्ञान प्राप्त गर्नका लागि त यी पत्रिका असाध्यै उपयोगी हुन्छन् । असल पत्रिका ज्ञानगुनका भण्डार नै हुन् तर खानेकुरा खान पत्रिका वा किताब र लेखिएका कापी प्रयोग गर्न हुँदैन । अझ त्यसमाथि चिल्लो र रसिलो चिज पोको पारेर खाने, खुवाउने गरियो भने त्यो खानेकुरा अत्यन्त घातक बन्दछ । पत्रिका छाप्न प्रयोग हुने मसी खानेकुरामा मिसिँदा हाम्रो पाचन प्रणालीलाई असर पुग्दछ । तत्काल केही नभए जस्तो लागे पनि यसको निरन्तर प्रयोगले भविष्यमा क्यान्सरको जोखिमसमेत बढाउँछ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । 

त्यसैले पत्रिका, किताब वा लेखिएका कापीहरूमा बेरिएका वा पोको पारिएका खानेकुरा खाँदै नखाऔँ । विद्यालयको क्यान्टिन र वरिपरिका पसल वा ठेलामा त्यसरी खानेकुरा दिने गरिएको छ भने शिक्षकलाई जानकारी गराऔँ र त्यसो नगर्न अनुरोध गरौँ । बरु सफा सालको पात, कागजको प्लेट आदि विकल्प प्रयोग गर्नु पर्छ भनेर विद्यालयमा छलफल गर्ने गरौँ । विद्यालयमै शिक्षक, अभिभावक र विद्यार्थी मिलेर सफा हातबाट टपरी वा दुना बनाउन सकिन्छ । ती दुना टपरी खाजा खान प्रयोग गर्न सकिन्छ । त्यसो नभएमा विद्यालय जाने बेला झोलामा घरबाट सानो प्लेट वा कचौरा लैजाने गरौँ । सानो प्लेट वा कचौराले झोलालाई धेरै गरुङ्गो पनि बनाउँदैन । खाजा खाने बेलामा त्यही प्लेट वा कचौरामा खाजा हालिदिनुस् भन्न सकिन्छ । अनि खाजा खाएपछि आफ्नो कचौरा धारामा धोयो, सुकायो, झोलामा हाल्यो । कस्तो आनन्द । सुरु सुरुमा कचौरा बोकेर स्कुल जान भाइबहिनीलाई अप्ठेरो लाग्ला । कहाँ कचौरा बोकेर स्कुल जानु जस्तो लाग्ला । लाज लाग्ला । बानी पर्दै गएपछि रमाइलो लाग्ने छ । 

  मुना