राजु लामिछाने
रुकुमपश्चिम, पुस २६ गते । रुकुमपश्चिममा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई सहज भएको छ भने अस्पताललाई भने समस्या भएको बताइएको छ । बिमाले बिरामीलाई उपचार खर्चमा राहत भएको हो भने अस्पतालले भुक्तानी नपाउँदा समस्या भएको हो ।
स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका छ वटै पालिकाका २० हजार ८८४ घरधुरीका ८५ हजार ७८८ जनाको स्वास्थ्य बिमा गरिएको छ । बोर्डका जिल्ला संयोजक कमल डाँगीका अनुसार जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिद स्मृति नगर अस्पताल चौरजहारी, आठबिसकोट नगर अस्पताल र सानीभेरी गाउँपालिका अस्पतालमा प्रथम सेवाविन्दु कायम गरेर स्वास्थ्य बिमा गरिएको छ ।
यी अस्पतालबाट बिरामीले सेवा लिने गरे पनि अस्पतालले भने सरकारबाट नौ करोड १८ लाख ६१ हजार रुपियाँ भुक्तानी नपाएको बताइएको छ । जिल्ला अस्पताल सल्लेका प्रमुख डा. महेश चौलागाईंका अनुसार स्वास्थ्य बिमाबापतको करिब एक करोड २५ लाख रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ । अघिल्लो आर्थिक वर्षकै २३ लाख रुपियाँ भुक्तानी भएको छैन भने चालु आव २०८१/८२ को पनि रकम नपाएको बताउनुभयो ।
स्वास्थ्य बिमामार्फत सबैभन्दा बढी उपचार सेवा लिने चौरजहारी अस्पतालले पनि पाँच करोड ५३ लाख ६२ हजार ३८६ रुपियाँ पाउन बाँकी रहेको जनाएको छ । अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार गत वैशाखदेखि हालसम्मको रकम नपाउँदा अस्पताललाई समस्या हुन थालेको छ । अस्पतालका १२५ जना कर्मचारीले तलबसमेत पाउन नसकेको उहाँले जनाउनुभयो । चौरजहारी अस्पतालमा वार्षिक एक लाखभन्दा बढी बिरामीले सेवा लिने गरेको र त्यसमध्ये ७४ प्रतिशतले स्वास्थ्य बिमामार्फत सेवा पाउने गरेको अस्पतालको तथ्याङ्क रहेको छ ।