• २६ पुस २०८१, शुक्रबार

रोकिन थाल्यो सिमेन्ट निर्यात

blog

लुम्बिनी समाचारदाता

लुम्बिनी, पुस २६ गते । भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ । 

नेपाली सिमेन्ट उत्पादकले नवीकरणका लागि समयमै निवेदन दिँदा पनि भारतीय पक्षबाट नवीकरण नभएको उद्योगीले जनाएका छन् । नवीकरणका लागि तीन महिनाअघि नै निवेदन दिए पनि नभएको बालाजी सिमेन्ट इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रौनक अग्रवालले बताउनुभयो । “समयमै निवेदन दिँदा पनि भारतले न नवीकरण गरेको छ न कारण नै खुलाएको छ,” उहाँले भन्नुभयो ।  नवीकरण नभएपछि उद्योगी चिन्तित बनेका छन् । उद्योगीको सबै प्रयास विफल भएका कारण नवीकरण नहुँदा चिन्ता थपिएको अग्रवालले बताउनुभयो । “हाम्रो सबै प्रयासले काम गरेन, अब सरकारले यसमा पहल गर्न जरुरी छ,” उहाँले भन्नुभयो । 

आइएसआई नवीकरण नहुँदा कृष्णनगर नाका हुँदै भारततर्फ निर्यात भइरहेको सम्राट् सिमेन्टको निर्यात पनि रोकिएको छ । रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात पनि ठप्प छ । अर्घाखाँचीको २०८१ असोज ९ देखि निर्यात रोकिएको हो । 

अर्घाखाँचीले दुई वर्षमा करिब ५५ करोड रुपियाँको सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार विगतमा भारतले आइएसआई मार्क नवीकरण गरे पनि यस वर्ष भने अवधि सकिएका कुनै पनि उद्योगको नवीकरण गरेको छैन । अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट, रुपन्देहीको बेलहिया नाका हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन् तर यी उद्योगको पनि आइएसआई मार्क नवीकरण अवधि केही महिनाभित्रै सकिँदै छ । 

उद्योगीका अनुसार भारतले यसै गरी नवीकरण नगर्दै जाने हो भने केही समयपछि सबै जसो उद्योगले गर्दै आएको सिमेन्ट निर्यात रोकिने छ । भारतले गुणस्तर चिह्न र आयात अनुमति दिएपछि भैरहवा नाकाबाट आर्थिक वर्ष २०७९/८० मा ३१ करोड छ लाख र आव २०८०/८१ मा एक अर्ब ६५ करोड ८६ लाख रुपियाँ बराबरको सिमेन्ट निर्यात 

भएको थियो । चालु आवको मङ्सिर मसान्तसम्म ४३ करोड ४० लाख रुपियाँ बराबरको दुई लाख ५९ हजार ७२१ टन सिमेन्ट भारततर्फ निर्यात भएको छ । पछिल्लो समय नेपालमा सिमेन्ट खपत कम छ । 

भैरहवा भन्सारका अनुसार बेलहिया हुँदै भारततर्फ निर्यात हुने मुख्य १० वस्तुमा सिमेन्ट र सिमेन्ट क्लिङ्कर पर्छ तर पछिल्ला महिनामा केही उद्योगको निर्यात रोकिँदा बिस्तारै निर्यात घटिरहेको छ ।