काठमाडौं, पुस २५ गते । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र–२०८१’ सार्वजनिक गर्नुभएको छ ।
बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले पुस १६ गते मङ्गलवार बसेको मन्त्रीपरिषदको बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको बताउनु भयो । उहाँले अब जलविद्युतका ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको बताउनु भयो ।
मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुने गरी विद्युत आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिनुभयो । उहाँले लगानीकर्तालाई सहज बनाउने र स्वदेशीसहित विदेशी लगानीकर्तालाई लगानी गर्ने बाटो खुला गर्नेगरी मन्त्रिपरिषद्ले पारित गरेको बताउनु भयो ।
उहाँले सरकारले जलविद्युत क्षेत्रमार्फत राखेको ‘समृद्ध नेपाल’ को लक्ष्य पूरा हुने वातावरण सिर्जना भएको बताउनु भयो । मन्त्री खड्काले नेपालको विद्युतको बजार सुनिश्चित रहेकाले लगानी सुरक्षित रहेको दाबी गर्नुभयो । उहाँले अबको १० वर्षमा २५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने आधारमा लक्ष्य निर्धारण भएको दाबी गर्नु भयो । उहाँले विगतमा १० वर्ष लगाएर एउटा आयोजना सम्पन्न नहुनको प्रमुख कारण पूर्वाधारहरु र अध्ययनहरु नहुने भएको बताउनु भयो । उहाँले तर अहिले धेरै आयोजनाहरुको अध्ययन सम्पन्न भएको बताउनुभयो ।
मन्त्री खड्काले सरकार र निजी क्षेत्रले त्यस्ता आयोजनाहरुमा लगानी गरिसकेको अवस्था रहेकाले अबको चारदेखि पाँच वर्षमा हरेक आयोजनाहरु सम्पन्न गर्न सक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले आयोजना सम्पन्न गर्न हुने समस्याहरुको पनि सरकारले पहिचान गरिरहेको बताउनु भयो । उहाँले केही जग्गा प्राप्ति,वन तथा वातावरण,बुझाई र अर्थ मन्त्रालयका समस्यामा पनि सरकार गम्भीर रहेको बताउनु भयो ।
उहाँले सरकार र निजी क्षेत्रका सम्पूर्ण आयोजनाहरुमा परेका समस्याको पहिचान गरेर कार्ययोजनामा समावेश गरेर मन्त्रीपरिषदबाट पारित गरेको भन्दै यो महत्वपूर्ण उपलब्धि भएको दाबी गर्नुभयो । उहाँले कार्यान्वयनका लागि सरकारले कमिटि नै बनाएर काम गर्ने बताउनु भयो । १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य वैज्ञानिक ढङ्गमा आएकाले सम्भव रहेको उल्लेख गर्नुभयो ।
उहाँले अर्थ मन्त्रालयसँग १० वर्षमा ऊर्जा क्षेत्रमा लगानी गर्न सक्ने विषयमा समेत छलफल गरेको बताउनु भयो। उहाँले लगानीको वातावरण बनाउँदै जलविद्युत उत्पादनमा आम नागरिकको सबैभन्दा बढी सहभागिता जनाएर लक्ष्य पूरा गर्ने उद्देश्य रहेको बताउनु भयो ।