काठमाडौँ, पुस २५ गते । नेपाल जितकुण्डो मार्सल आर्ट्स सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ ।
हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । तीन लाख ५० हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा प्रत्येक स्पर्धाको कुल पुरस्कार राशी ५० हजार रुपियाँ रहेको छ ।
दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमा पहिलो पटक हुन लागेको हो । दुई दिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।