सन्ताेष सुबेदी
कास्की, पुस २५ गते । तालैतालको सहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौ वटा तालमा गरिएको जलपंक्षी गणनामा ५३ प्रजातिका जलपंक्षी फेला परेका छन् ।
टाइगर माउण्टेन पोखरा लज र पोखरा पंक्षी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो ।
सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंक्षी गणना गरिँदै आइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपंक्षी गणना गरिएको थियो ।
गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुई हजार १२ जलपंक्षी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपंक्षी भेटिएका छन् ।
गणनाका क्रममा फेवा र दिपाङ्ग तालमा चराहरूको संख्या यस अघिकोमा केही वृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ ।
पछिल्लो समयमा सिमसार संकुचित हुँदै जानु, मानवीय गतिविधिहरू बढ्नु, अवैध चोरी शिकार, ध्वनी प्रदुषण, वासस्थानको व्यापक विनास, पंक्षी संरक्षणमा सचेतनाको कमी आदि कारणले केही तालमा थोरै बढेता पनि अन्यमा अघिल्लो वर्षको तुलनामा धेरै घटेको उहाँले जानकारी दिनुभयो ।