मुसीकोट समाचारदाता
रुकुमपश्चिम, पुस २४ गते । भूकम्पले क्षति पुगेका रुकुमपश्चिमका २७ वटा सामुदायिक विद्यालय र पाँच वटा सरकारी स्वास्थ्य संस्था पुनर्निर्माणका लागि छनोट भएका छन् । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले विद्यालय र स्वास्थ्य संस्था छनोट गरेर बजेटसमेत व्यवस्थापन गरेको छ ।
मन्त्रालयका इन्जिनियर सुशील आचार्यका अनुसार यी ३२ वटा निर्माण योजनाका लागि २२ करोड रुपियाँ विनियोजन गरिएको छ । मौजुद सार्वजनिक खरिद ऐन, नियमावली अनुसार निर्माण कार्य अघि बढाउन पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएकोे इन्जिनियर आचार्यले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीले योजना र बजेटको विवरण आइसकेको अब ठेक्का प्रव्रिmया सुरु हुने र चालु आर्थिक वर्षमै काम सम्पन्न हुने दाबी गर्नुभयो ।
प्रमुख बिसीका अनुसार चौरजहारी नगरपालिका–६, मूलपानीको जनज्योति आधारभूत विद्यालय र सोही वडाको खागलस्थित जनकल्याण आवि, वडा नं. १३ को जनकल्याण आवि रातामाटाको भवन निर्माणका लागि प्रतिविद्यालय ७५ लाख र वडा नं. ५ को माध्यमिक विद्यालय खहरेको भवन निर्माणमा ७० लाख रुपियाँ विनियोजन भएको छ ।
त्यसै गरी आठबिसकोट नगरपालिका–१४ को सरस्वती आवि, वडा नं. १३ को बालसेवा आवि, वडा नं. १२ को त्रिवेणी आवि, वडा नं. १२ कै नेपाल राष्ट्रिय मावि, वडा नं. ११ को आधारभूत विद्यालयको भवन निर्माणका लागि प्रतिविद्यालय ७५ लाख र वडा नं. १० सरस्वती आविको भवन निर्माणका लागि ५० लाख रकम छुट्याइएको छ ।
सानीभेरी गाउँपालिका–११ मा रहेको जनकल्याण मावि, सोही वडाको शिव आवि र वडा नं. १० को सरस्वती माविको भवन निर्माणका लागि प्रतिविद्यालय ७५ लाख र वडा नं. ३ को बालकल्याण आवि र वडा नं. ८ को जनसहयोग आविको भवन निर्माणका लागि ७०/७० लाख रुपियाँ विनियोजन गरिएको छ ।
त्यसै गरी बाँफीकोट गाउँपालिका–१० मा रहेको बालहित मावि र वडा नं. ५ मा रहेका रत्न आविको भवन बनाउन ७५/७५ लाख र वडा नं. ६ मा रहेको सिद्धार्थ माविको भवन निर्माणका लागि ७० लाख रकम छुट्याइएको छ । त्रिवेणी गाउँपालिकाको वडा नं. ८ मा रहेको जनप्रिय मावि र वडा नं. ५ को प्रतिविद्यालय ७५ लाख र वडा नं. ९ को हिमालय जनता मावि र वडा नं. २ को त्रिवेणी माविको भवन निर्माणका लागि ७०/७० लाख रुपियाँ प्राप्त भएको छ । मुसीकोट नगरपालिका–२ स्थित महाकाली मावि र वडा नं. १ मा रहेको बाल विकास आविको भवन निर्माण गर्न ७५/७५ लाख र वडा नं. १३ को सरस्वती आवि र वडा नं. १४ मा रहेको जन आविको भवन निर्माणका लागि ७०/७० लाख रुपियाँ विनियोजन भएको छ ।
२७ वटा विद्यालय भवन निर्माण गर्नका लागि १९ करोड ६० लाख र पाँच सरकारी स्वास्थ्य संस्था निर्माणका लागि दुई करोड ४० लाख रुपियाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थातर्फ सानीभेरी गाउँपालिका–९ स्थित आधारभूत स्वास्थ्य चौकी, वडा नं. ४ स्थित गरायला स्वास्थ्य चौकी र आठबिसकोट नगरपालिका–१३ को आधारभूत स्वास्थ्य केन्द्र छनोट भएका छन् । यहाँ भवन बनाउन प्रतिस्वास्थ्य संस्था ५० लाख बजेट व्यवस्थापन भएको छ । त्यसै गरी आठबिसकोट नगरपालिका–१४ को सहरी स्वास्थ्य सेवा केन्द्र र चौरजहारी नगरपालिका–५ को विजयश्वरी स्वास्थ्य चौकी भवन निर्माणका लागि ४५/४५ लाख रुपियाँ विनियोजन गरिएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण कार्यव्रmम सञ्चालन कार्यविधि, २०८१ बमोजिम जिल्लास्थित सिफारिस समितिबाट सिफारिस भएको आधारमा योजना भएको बताइएको छ । आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको निर्माण कार्य ढिलै भए पनि हुन थालेको बताउनुभयो ।