नारायण तुम्बापो
फिदिम, पुुस २३ गते । नेपालको सुदूरपूर्वी भूगोलमा पर्ने कोशी प्रदेशको पाँचथर जिल्लाका आठ स्थानीय तहहरूमध्ये फिदिम नगरपालिका एक महत्त्वपूर्ण स्थानीय प्रशासनिक एकाइ हो । सङ्घीय गणतान्त्रिक प्रणालीको संरचना अनुरूप यस नगरपालिकालाई प्रारम्भिक ९ वडाबाट विस्तार गरी हाल १४ वडामा विभाजन गरिएको छ । पाँचथरको सदरमुकामसमेत रहेको यो नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणले विशिष्ट स्थान ओगटेको छ ।
विभिन्न ऐतिहासिक लेखोटअनुसार फिदिमलाई प्राचीनकालमा ‘फेदेन’ भनिन्थ्यो । लिम्बू भाषामा ‘फे’ को अर्थ मैदान र ‘देन’ को अर्थ ठाउँ हुन्छ । समयक्रममा ‘फेदेन’ शब्द अपभ्रंश भएर ‘फिदिम’ रहन गएको विश्वास गरिन्छ । यस क्षेत्रमा लिम्बू बहुल समुदायको बसोबास छ ।
फिदिम नगरपालिका १९२.५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । २०७८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या ४८,४९५ छ । जसमध्ये २३,६७९ पुरुष र २४,८१६ महिला छन् । प्रमुख समुदायहरूमा लिम्बू जातिको बहुलता देखिन्छ भने राई, ब्राह्मण, क्षेत्री, तामाङ, मगर, गुरुङ, मुसलमान, नेवारलगायतका अन्य जातीय समूहहरूको पनि उपस्थिति छ । कृषि मुख्य पेशा भएकाले यहाँका बासिन्दाले धान, मकै, कोदो, गहुँजस्ता खाद्यान्न बाली तथा अलैँची, चिया, अदुवा, चिराइतोजस्ता नगदे बालीको खेती गर्छन् ।
यस्तै, २०८० मा तथ्याङ्क कार्यालयको अभिलेखित जिल्ला वस्तुतग विवरण अनुसार फिदिम नगरपालिकाको साक्षरता दर ८३.७२ प्रतिशत छ । यहाँ ७९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। यी विद्यालयहरूमा ९,६७७ विद्यार्थी अध्ययनरत छन् । यहाँका १६ वटा संस्थागत विद्यालय र एउटा क्याम्पसले उच्च शिक्षामा योगदान पुइरहेका छन् । नगरप्रमुख मित्रप्रसाद काफ्लेले गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यार्थीमैत्री भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको बताउनुभएको छ ।
आमाबाबु गुमाएका, विपन्न तथा पारिवारिक विचलनमा परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष पहल भइरहेको छ । दुई नम्बर वडाको आदर्श आधारभूत विद्यालय ओदिनमा २० र चार वडाको जागृति आधारभूत विद्यालयमा ४५ जना अनाथ विद्यार्थीका लागि आवासीय कक्षा सञ्चालनमा छ । अन्य दुई विद्यालयमा पनि आवासीय कक्षा थप गर्ने योजना रहेको फिदिम नगरपालिकाले जनाएको छ ।
अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा सुनिश्चित गर्न चार वडाको सुखबोध माविमा बौद्धिक अपाङ्गता भएकाहरूका लागि, गढी माविमा दृष्टिविहीन तथा फिदिम माविमा श्रवणशक्ति कमजोर विद्यार्थीहरूका लागि विशेष कक्षा सञ्चालन गरिएको छ ।
फिदिम नगरपालिका प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका लागि निकै आकर्षक गन्तव्य हो । लिम्बू समुदायको थातथलो भएकाले यहाँका सांस्कृतिक पक्षहरू विशेष महत्वका छन् । लिम्बू जातिको केलाङ, माङलाङ, धान नाच, पालाम, हाक्पारे, ख्यालीजस्ता परम्परागत नृत्य तथा गीत यहाँको सांस्कृतिक धरोहर हुन् ।
धार्मिक पर्यटनका हिसाबले फिदिममा लव्रेकुटी र सिलौटी महत्वपूर्ण स्थलहरू हुन् । किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनले लव्रेकुटीमा समाज सुधारका १० बुँदे सत्यधर्म मुचुल्का तयार गर्नुभएको थियो । सिलौटी उहाँको समाधिस्थल हो । यी स्थलहरूमा प्रत्येक वर्ष देश–विदेशका किराँत धर्मावलम्बीहरू ठूलो सङ्ख्यामा आउने गर्छन् ।
फिदिम नगरपालिका–४ मा रहेको सम्हालुङ गढी ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । लिम्बूवान क्षेत्रका विभिन्न राजाले यही गढीलाई आफ्नो राजधानी बनाएका थिए । यहाँ राजाहरूले सभा, सम्मेलन तथा अन्य प्रशासनिक गतिविधि सञ्चालन गर्थे । यस गढीलाई अध्ययन गर्न र अवलोकन गर्न देशी–विदेशी पर्यटकहरूको आगमन भइरहन्छ ।
फिदिमको प्राकृतिक सौन्दर्य पनि लोभलाग्दो छ । साधुटार, सुकपोखरी, बतासे, माझीटार, खलङ्गाटारजस्ता स्थानहरूले पर्यटकहरूलाई आकर्षित गर्छन् । फिदिम बजारलाई सरकारले दश नयाँ नमुना सहरमध्ये एकका रूपमा विकास गर्ने योजना बनाएको छ । यो बजारको मोहक परिदृश्यले पहिलोपटक आउने पर्यटकहरू काठमाडौं, पोखरा वा धरानजस्तो लाग्ने बताउँछन् ।
फिदिम नगरपालिका पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट मेची मार्ग हुँदै पुग्न सकिन्छ । कोशीमार्ग र तमोर कोरिडोरको बाटो प्रयोग गरी पनि यहाँ सहज रूपमा यात्रा गर्न सकिन्छ । यातायातको सहज पहुँचले फिदिमलाई व्यापार, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न मद्दत गरिरहेको छ ।
फिदिम नगरपालिका इतिहास, संस्कृति र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो । यहाँको विविध सांस्कृतिक परम्परा, धार्मिक स्थलहरू र प्राकृतिक सौन्दर्यले फिदिमलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ । साथै, स्थानीय प्रशासनको प्रयासले शिक्षा, भौतिक पूर्वाधार र पर्यटन प्रवर्धनमा सकारात्मक प्रगति भइरहेकाले फिदिम नगरपालिका आर्थिक र सामाजिक रूपान्तरणतर्फ अघि बढिरहेको छ ।