मधेश प्रदेश ब्युरो
जनकपुर, पुस २३ गते । पछिल्लो सातादेखि मधेश प्रदेशका जिल्लामा शीतलहरको प्रभाव कम हुँदै गएको छ । बिहान बाक्लो हुस्सु, शीतलहर चले पनि दिउँसोपख घाम लाग्ने गरेकाले शीतलहरको असर कम देखिएको हो ।
बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार विगत वर्षमा जस्तो यो पटक महोत्तरीमा शीतलहरको प्रकोप देखिएको छैन । दैनिक जसो घाम लाग्नाले जाडोको खासै अनुभूति भएको छैन । जिल्लाको उत्तरी भेगमा त झन् शीतलहरको आभास नै छैन । दक्षिणी क्षेत्रमा भने बिहानपख बाक्लो हुस्सु लागे पनि दिन छिप्पिँदै जाँदा घाम लाग्ने गरेको छ ।
मौसमविद्हरूका अनुसार मौसमी तापक्रम १० डिग्रीभन्दा तल झ-यो भने तराई क्षेत्रमा शीतलहरको प्रकोप मानिन्छ । यो पटक भने पुस महिना सकिन लाग्दा पनि यहाँको तापक्रम २५ देखि १३ डिग्रीको बिचमा रहेको छ । केही दिनयता मौसमले लुकामारी गरे पनि तापक्रममा खासै असर देखिएको छैन । गत सोमबार बाक्लो हुस्सु लागेर जाडो बढेको थियो ।
पारिलो घामको सदुपयोग गर्दै गृहिणीहरू लुगा धुने, बिस्कुन सुकाउने र माघेसङ्व्रmान्तिका लागि तिल छाँट्ने कार्यमा व्यस्त देखिन्छन् । विगत वर्ष जस्तो जाडो नबढेपछि तुलनात्मक रूपले जनजीवन सहज देखिएको छ । झलमल्ल घाम लाग्ने गरेकाले आगो तापेर दिन काट्नुपर्ने बाध्यता पनि टरेको छ । शीतलहरका कारण बालबालिका बिरामी पर्न थालेपछि गत वर्ष दुई सातासम्म जिल्लाका विद्यालय बन्द गरिएका थिए । यो पटक सबै शिक्षण संस्था निर्बाध रूपमा चलेका छन् ।
मौसमी अनुकूलताको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ । जिल्लाका अस्पतालमा विगत वर्षको जस्तो जाडोका बिरामीको चाप देखिएको छैन । केही दिनयता फाट्टफुट्ट चिसोका कारण बिरामी आउने गरेको बर्दीबास अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी विनोदकुमार सिंहले दम, हाडजोर्नीको समस्या लिएर बुढापाका र रुघाखोकी, श्वासप्रश्वास लागेका बालबालिका अस्पतालमा बढेको बताउनुभयो ।
त्यस्तै औरही नगरपालिकाले जाडो छल्न नगर क्षेत्रका आठ सय विपन्न परिवारलाई कम्बल वितरण गर्ने तयारी गरेको छ । यसबिच शीतलहरको अवस्था देखियो भने दाउरा वितरणका लागि पनि बजेट छुट्याइएको नगरपालिकाका कार्यकारी प्रमुख माधवेन्द्र चौधरीले बताउनुभयो । लामो समयपछि तराईमा शीतलहर नचलेपछि स्वास्थ्य र कृषि क्षेत्रमा अनुकूल प्रभाव देखिएको छ । यो पटक बालीनालीमा रोग किराको खासै प्रकोप देखिएको छैन । नियमित जसो घाम लागिरहेकाले बोटबिरुवाले खाना बनाउने प्रव्रिmया प्रकाश संश्लेषणमा बाधा नपर्दा वनस्पति र कृषि क्षेत्रका लागि पनि यो अवस्था अनुकूल रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
घाम लागेपछि राहत
वीरगन्ज समाचारदाता दीपकप्रसाद
गौतमका अनुसार लगातार दुई दिनदेखि हुस्सु र कुहिरोसँगै शीत परेर दैनिक जनजीवन नै कष्टकर बन्दै गएकोमा सोमबार घाम लागेपछि चिसोबाट केही राहत मिलेको छ । चिसोका कारण जनजीवन नै प्रभावित बनेको अवस्थामा सोमबार चर्को घाम लागेपछि सबैलाई केही राहत मिलेको हो । चिसोका कारण घरबाहिर धेरै कम सर्वसाधारण निस्किरहेको अवस्थामा घाम लागेपछि धेरै जना घाममा घरबाहिर नै देखिन्थे ।
मौसम फिल्ड कार्यालय सिमराका अनुसार शनिबार वीरगन्जको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस र आइतबार न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार बिहान चिसो र हुस्सु भएपछि ११ बजेबाट राम्ररी चर्को घाम लागेको छ । वीरगन्ज महानगरले जाडो बढेसँगै नारायणी अस्पताल, नयाँ बसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोकलगायतका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको बताउनुभयो । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण गर्ने कार्यसमेत भइरहेको जानकारी दिनुभयो । हालसम्म चिसोका कारण कसैको ज्यान नगएको स्थानीय प्रशासनले जनाएको छ ।
महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णका अनुसार चार दिनको चिसो र कुहिरोबाट आव्रmान्त बनेका महोत्तरीका बासिन्दाले सोमबार घाम उदाएपछि राहत महसुस गरेका छन् । अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२५ को पहिलो दिनदेखि महोत्तरीमा चलेको हावा र चिसोका कारणले जनजीवन प्रभावित बनेको थियो । त्यसमा झन् शनिबार र आइतबार बिहानदेखि रातिसम्म हावा चलेपछि वृद्धवृद्धा र बालबालिकालाई प्रभावित भएका थिए ।
चार दिनदेखि महोत्तरीमा चिसो बढेपछि पालिकाले विद्यालयमा बिदा दिन सुरु गरेका छन् । पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रले आइतबार नै एक सूचना जारी गर्दै पुस २२ गतेदेखि २९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उल्लेख गर्नुभएको छ ।
जलेश्वर नगरपालिकाका वयोवृद्ध विकाउ साफीले घाम लागेपछि राहत महसुस भएको बताउनुभयो । शनिबार नेपाली सेनाको गोरखनाथ गण परिकौलीले मटिहानी नगरपालिकाका १२३ जनालाई कम्बल वितरण गरेको थियो ।
रौतहट समाचारदाता यादवराज पुरीका अनुसार पुसको अन्तिम सातासम्म पनि कठ्याङ्ग्रिँदो जाडो नहुँदा रौतहटका कपडा व्यापारी निराश बनेका छन् भने न्यानो कपडाको अभावमा जाडोको कहर खेप्ने सर्वसाधारण नागरिक खुसी देखिन्छन् । विगतका वर्षमा पुस लागेदेखि नै शीतलहर सुरु हुँदा न्यानो कपडाको बिक्री अधिक हुन्थ्यो र व्यापारी खुसी हुन्थे । जाडोका कारण सर्वसाधारण कठ्याङ्ग्रिएर बस्नुपर्ने अवस्थाले उनीहरूको दैनिकी कष्टकर हुन्थ्यो । मुसहर समुदायका अगुवा अनुप मुसहर माझी भन्नुहुन्छ, “यस वर्ष पुसमा एक/दुई दिन मात्र हुस्सु देखा प-यो र जाडो महसुस भयो तर अधिकांश दिन घाम लागेका कारण विपन्न परिवारले शीतलहरको सामना गर्नु परेको छैन । यस्तै मौसम हुने हो भने माघ एक महिना काट्न खासै गाह्रो हुँदैन ।”
रौतहटको प्रमुख बजार गौर, गरुडा, कटहरिया, चन्द्रनिगाहपुर बजारका कपडा तथा फेन्सी व्यापारी भने न्यानो कपडाको बिक्री कम हुँदा निराश बनेका छन् । चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र सापकोटा भन्नुहुन्छ, “अघिल्ला वर्षमा मङ्सिरको अन्तिम सातादेखि नै जाडो सुरु हुँदा व्यापारीको न्यानो कपडा, सिरक डसना अधिक बिक्री हुन्थ्यो र मुनाफा पनि राम्रै हुन्थ्यो । यस वर्ष हालसम्म कठ्याङ्ग्रिँदो जाडो नहुँदा फेन्सी पसल सुनसान छन् । ब्याजमा पैसा सापटी लिएर न्यानो कपडा हालेका व्यापारीको भने झन् बिजोग देखिन्छ ।
जनज्योति नमुना विद्यालय चन्द्रपुर–६ का सहायक प्रधानाध्यापक वसन्त सापकोटाले पुस महिना बित्न लाग्दा पनि खासै जाडो नभएका कारण हालसम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको बताउनुभयो । उहाँका अनुसार कक्षाकोठामा जाडो महसुस हुँदा बालबालिकालाई घामको न्यानोमा राखी विद्यालयको चौरमा अध्यापन गराइने गरिएको छ ।
कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार घाम लागेपछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो । केहीदिनदेखि निरन्तर चलेको शीतलहर र चिसोबाट आज स्थानीयले घाम लागेपछि राहत महसुस गरिएको बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो । चिसोले गर्दा सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, मजदुर र ठेला रिक्सा चलाएर दैनिकी चलाउने सर्वसाधारण धेरै प्रभावित बनेका थिए । चिसो बढेकै कारण केही विद्यालयमा जाडो बिदा गरिएको थियो भने स्थानीय सरकारले पालिकामा आगो ताप्नका लागि दाउरा वितरण गर्ने योजना बनाएको थियो ।