पाल्पा समाचारदाता
पाल्पा, पुस २३ गते । पाल्पाको तानसेन नगरपालिका–५ की अस्मिता नेपालीको १६ वर्षमा विवाह भयो । विवाह हुनासाथ पढाइमा पूर्णविराम लाग्यो । अहिले २० वर्ष पुग्दा उहाँको तीन वर्षको छोरा छ तर जन्मदर्ता छैन । यो वर्ष अस्मिता २० वर्ष पुगेपछि मात्रै वडामा विवाहदर्ता भएको छ । विवाहदर्ता गर्नासाथ सन्तानकोे जन्मदर्ता गर्न मिलेन भनेर वडाले फर्कायो । जन्मदर्ता नहुँदा छोराले विद्यालय भर्नादेखि स्वास्थ्य उपचार सुविधा नपाउने सुनेपछि उहाँ चिन्तित हुनुहुन्छ ।
तानसेन–४ की सुनिता परियारको पनि १७ वर्षमा विवाह भयो । बिहे गरेको एक वर्ष नपुग्दै आमा बन्नुभयो तर विवाह गरेको आधिकारिक प्रमाण केही छैन । समस्या परिहाले न्याय खोज्न जाने ढोका छैन । सुनिताले भन्नुभयो, “धेरै पटक वडामा गयौँ तर २० वर्ष नपुगी विवाहदर्ता हुँदैन भनेर फर्काउनुभयो ।” सुनिताको नागरिकता पनि छैन । नागरिकता नहुँदा सिप सिक्ने र आत्मनिर्भर हुने उहाँको चाहना पूरा भएको छैन । उहाँले भन्नुभयो, “पटक पटक नागरिकता बनाउन प्रयास गरेँ तर घरबाट विवाह नै दर्ता नभएकाले बन्दैन भन्छन् ।”
नेपालको कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन तर बालविवाह अझै रोकिएको छैन । पाल्पामा उमेर नपुगी विवाह गर्ने छोरी धेरै छन् । यसले पढ्ने अवसर खोसिएको छ । पढेर आत्मनिर्भर बन्ने सपना तुहिएको छ । तानसेन–१३ की विमला माझीको १६ वर्षमै विवाह भयो । कक्षा ७ मा पढ्दापढ्दै विवाह बन्धनमा बाँधिएकी माझीको विवाहसँगै पढाइ पनि सकियो । विमलाको अहिले विवाहदर्ता र नागरिकता दुवै छैन । उहाँले भन्नुभयो, “नागरिकता बनाउन र विवाहदर्ता गर्न पर्छ भनेर वडामा गएका थियौँ तर उमेर नपुगेको कारण फर्काउनुभयो ।” पाल्पामा बालविवाह कुनै जातिसँग सम्बन्धित छैन तर धेरै दलित र जनजाति समुदायका छोरीहरू उमेर नपुगी विवाह बन्धनमा बाँधिएका छन् ।
तानसेन नगरपालिका–१३ की अन्जलीले नौ कक्षा पढ्दै गर्दा प्रेम विवाह गर्नुभयो । १७ वर्षमा विवाह गर्नुभएकी उहाँले १८ वर्षमै छोरा जन्माउनुभयो । आमा बनेसँगै रहर चाहना सबै सकिए । स्थानीय तहले वडामार्फत दलित वर्गका पाँच वर्षमुनिका बच्चालाई दलित बालपोषण भनेर ५३२ रुपियाँ दिन्छ तर जन्मदर्ता नहँुदा बालबालिका यस्तो सेवा लिनबाट वञ्चित छन् । कतै बालबालिका विद्यालयमा भर्ना हुनसमेत पाएका छैनन् ।
तानसेन नगरपालिका वडा नं. ११ का वडा सचिव तारा केसी भन्नुहुन्छ, “बालविवाह भइसकेपछि आउने समस्या जटिल छन् । एकातिर २० वर्षमुनि जन्मदर्ता हुँदैन अर्कोतिर शिशु जन्मनासाथ जन्मदर्ता गर्नुपर्नेमा हामीले चाहेर पनि जन्मदर्ता गर्न र उहाँहरूलाई राज्यको सुविधा दिन सक्दैनौँ ।” राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पामा १० देखि १४ वर्षमा विवाह गर्ने सात हजार ३३ जना, १५ देखि १७ वर्षमा २७ हजार ५९२ जना, १८ देखि २० वर्षभन्दामुनि ३० हजार ७६१ छोरीको विवाह भएको छ । सबैभन्दा धेरै बालविवाह तानसेन नगरपालिकामा छ ।
सुगम मानिने तानसेन नगरपालिकामै सबैभन्दा धेरै १२ हजार २१८ जना बालिकाको २० वर्षमुनि विवाह भएको छ । तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहाले वडा तथा नगरपालिकाले बालविवाहदर्ता नगर्ने र यस्तो विवाह गर्नेलाई पालिकाबाट दिने सेवा, सुविधा र अनुदान रोक्दै आएको बताउनुभयो ।