• २४ पुस २०८१, बुधबार

बिरामीलाई सहुलियतपूर्ण सेवा

blog

बुटवल समाचारदाता 

बुटवल, पुस २३ गते ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई मेसिन खरिदका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको जनाएको हो । 

एमआरइ मेसिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति तथा अस्पताल प्रशासनको प्रतिबद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालमा एमआरआई मेसिन आएपछि बिरामीले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएकाले विगतमा देखापरेका कमजोरी सुधार गर्दै छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको बताउनुभयो । 

मन्त्री सारुले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटिलाई आश्यक छलफल, विज्ञको सुझाव, सार्वजनिक खरिद ऐनको अध्ययन तथा विभिन्न पक्षसँग छलफल गरी पुनः बोलपत्र आह्वान गरिएको र अब जसरी पनि एमआरआई मेसिन खरिद गरिने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले अस्पतालमा आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको थियो । 

लुम्बिनी प्रदेशका पूर्वसामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेसिन नहुँदा सेवाग्राहीले दुःख पाएको उल्लेख गर्दै आर्थिक चलखेल वा बहानामा जनताले दुःख पाउन नहुने बताउनुभयो । यसै गरी पूर्वस्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले अबको टेन्डर प्रक्रियाबाट जसरी भए पनि एमआरआई मेसिन खरिद हुने बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष नारायण जिसी (निर्मल) ले एमआरआई मेसिन खरिदका लागि गरिएको टेन्डर प्रव्रिmया रोकिएमा वा स्थगित भएमा जनता आन्दोलित हुने बताउनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालमा एमआरआई मेसिन ल्याउने कुरा धेरै लामो समयदेखि चर्चाको विषय भए पनि पूर्णता पाउन नसकेको गुनासो गर्दै अब ढिलाइ हुन नहुनेमा जोड दिनुभयो । 

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले विगत चार वर्षदेखिको लामो प्रयासमा पनि अस्पतालमा एमआरआई मेसिन ल्याउन नसक्नु दुःखद भएको बताउनुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले एमआरआई मेसिन खरिद भएमा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६/१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भई आधा मूल्यमा सेवा लिन पाउने बताउनुभयो ।