• २४ पुस २०८१, बुधबार

डोपिङबारे सचेतना जगाउन वेबसाइट

blog

डोपिङसम्बन्धी वेबसाइट सार्वजनिक गरिँदै ।

काठमाडौँ, पुस २२ गते । खेलकुदमा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरू गलत तरिका अपनाउन पनि पछि पर्दैनन् ।

जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधीको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ । डोपिङमा नेपाल पनि मुछिसकेको राष्ट्र हो । सन् २००६ भएको कोलम्बो सागमा नेपालकै धावक राजेन्द्र भण्डारीको दुई स्वर्ण पदक खोसिएको थियो ।

यस्तै खेलभावना विपरितको काम नहोस् भन्ने हेतुले खेलाडी, प्रशिक्षक, म्यानेजरसँग अन्य खेलकर्मीलाई सचेतना जागउन र डोपिङबारे जानकारी दिन राष्ट्रिय एन्टि डोपिङ एजेन्सी (नाडा)ले सोमबार यससम्बन्धी वेबसाइट सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको सभाहलमा नाडानेपाल डट जिओभी डट एनपी नामक वेबसाइटको ठेगाना क्लिक गरी उद्घाटन गर्नुभयो ।

खेलकुद मन्त्री चौधरीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा खेलाडीले जित्नका लागि प्रतिबन्धित औषधी प्रयोग गर्ने बानी विश्व खेलकुदमा डरलाग्दो रोग हो भन्नुहुँदै नाडाको यस वेबसाइटले नेपालमा डोपिङमा कमी ल्याउन ठुलो भूमिका खेल्ने भनाइ राख्नुभयो ।

नाडा नेपालका संयोजक डा. असिम भण्डारीले नेपाली खेलकुदलाई स्वच्छ बनाउने अभियानअन्तर्गत वल्ड एन्टि डोपङ एजेन्सी (वाडा)को मापदण्डअनुसार यो वेबसाइट बनाएको बताउनुभयो । उहाँले वेबसाइट बनाउन सहयोग गर्नुहुने डा. ज्ञानेन्द्र शाहलाई धन्यवाद पनि दिनुभयो । शाह इन्टरनेसल डोपङ कन्ट्रोल अफिसर्समा नेपालका प्रतिनिधि हुनुहुन्छ ।