कविराज घिमिरे
हिले, पुस २२ गते । धनकुटाका व्यवसायी तथा उद्यमीले सेवा तथा उत्पादन भन्दा अनुदानका लागि फार्म सञ्चालन गर्ने क्रम बढेको गुनासो गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको औद्योगिक लगानी र रोजगारीको सृजना विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले अनुदानका लागि फार्म खोल्ने र अनुदानपछि बन्द गर्ने चलन बढेको गुनासो गरेका हुन् ।
उद्यम सञ्चालन गर्न अनुदानभन्दा पनि बजार सहज हुनुपर्ने व्यावसायी सुनिल डङ्गोलले बताउनुभयो । त्यस्तै बैंकले ऋण लिँदा एउटा व्याजदर निर्धारण गर्ने गरेको र तिर्ने बेलामा दोब्बर बनाउने गरेको व्यवसायीको गुनासो छ । उनीहरूले तराईका बजारबाट सस्तो मूल्यका नाममा गुणस्तरहिन फलफूल तथा मासुजन्य वस्तु ठेला तथा सवारी बजार घुमाएर माइकिङ गर्दै बेच्दा पनि घरेलु कार्यालय, नगरपालिका तथा उद्योग वाणिज्य सङ्घ मौन बसेका कारण आफूहरू समस्यामा परेको स्थानीय व्यवसायी सन्देश आठपहरीयाले गुनासो गर्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बास्कोटाले दैनिक २ देखि ३ वटा उद्योग खारेज भइरहेका जानकारी दिनुभयो । उहाँले धनकुटामा रहेको औद्योगिक ग्राममा ६२ वटा ब्लक बन्ने भनिएकोमा २४ वटा बनिसकेको र त्यसमा पनि १२ ब्लक सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले व्यावसायी तथा उद्यमीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले धनकुटामै उत्पादन भएको सामग्री प्रयोग गर्न र धनकुटाकै प्राविधिकमार्फत् मर्मत कार्य गर्न जिल्लाका सरकारी कार्यालयमा पत्राचार गरि कार्यान्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।