गुणबहादुर रोका
सुलीकोट, पुस २१ गते । नेपाली सेनाले आज आइतबारदेखि गोरखा–काठमाडौं एकीकरण पद यात्रा सुरु गरेको छ । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेंसी पुग्ने उहाँले बताउनुभयो । साँझ कार्यक्रम गरी धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।
पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा राष्ट्रिय झण्डा र टर्चसहित नेपाली सेनाका पश्चिम पृतनापति माथबरसिंह कार्की र गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानाले एक कार्यक्रमबिच झण्डा र टर्च हस्तान्तरण गर्नुभएको रिपुमर्दन गण गोरखाले जनाएको छ ।
गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काडमाडौंको हनुमान ढोका पुर्याइनेछ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मूल समाराेहमा शार्दूलजंग गुल्मले उक्त टर्च र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।
पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ २०७६ सालबाट नेपाली सेनाले एकीकरण पदयात्रा गर्दैआएको छ । जिल्लामा रहेका ११ वटै पालिकाको समन्वय तथा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको विशेष आयोजनामा नेपाली सेनाले गोरखा काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको रिपुमर्दन गण गोरखाले जनाएको छ ।