• २३ पुस २०८१, मङ्गलबार

सगरमाथा बैसाखी सापटी देऊ (कविता)

blog

रहरलाग्दा हरिया फाँटहरूमा

सूर्यको रापले शीतलता दिन नसकेपछि

दृश्यबाट एकाएक अलप भएका सिद्धार्थ गौतम

भेट्न सकेका छैनन अहिलेसम्म

गुगल र मेटाका सर्च इन्जिनहरूले पनि

 

नभेटिएका सिद्धार्थ गौतमका सन्तापले

यशोधरा र राहुलको पीडा बढ्दै जाँदा

खिन्न मन बनाएर हिँडेको युयुत्सु

एकाएक पाण्डवहरूसँगै रणभूमिमा देखिएपछि

कसैले जानाजान ब्युँझाएको छ

बोधिवृक्षमुनि ध्यानमग्न बुद्धलाई

 

बोधिवृक्षको कोसौँ कोसको परिधिमा पनि

ज्वाला र सन्ताप घट्न नसकेपछि

एकाएक दृश्यमा कैद भएका छन् बुद्ध

जर्ज एभरेस्टले चोमोलङ्माको उचाइ नापेर

माउन्ट एभरेस्ट नामकरण गर्नु अघि नै

हिमाल पारिको समथर भूमिमा

 

हिमालपारि र हिमालवारि

उही समथर भूमि रहेको परिदृश्यमा

पारिपट्टिको शीतलता, सौम्यता र वैभव

वारिपट्टिको जर्जर भूमि र विभाजित मनहरू

तुलना गर्दा गर्दै लडखडाएको सगरमाथा

बैसाखीको सहारामा उभिएको छ

 

बैसाखी टेकेर उभिएको सगरमाथा

दुःखी मनले गनिरहेको छ निर्मलाका लासहरू

बाकसमा फर्किएका मानव शरीरबाट उडेका श्वासहरू

जीवित नागरिकका पीडाका उच्छ्वासहरू

विश्वविद्यालयमा खालि भएका डेस्कबेन्चहरू

अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध मानवहरू

सडकमा उर्लिएका मानव भिडहरू

 

मानव भिडबाट एक्लिएर एकान्तमा

रोइरहेका छन् बिना आँसु धरधरी

विकास, सुशासन, शान्ति र समृद्धि

पर बसेर नियाली रहेका छन् बोझिलो मनले

सद्भाव, समता, सहअस्तित्व र भाइचाराहरू

ए सगरमाथा !

तिम्रो बैसाखी सापटी देऊ न एक पटक

खुट्टा टेकेर उभिन सक्ने बनाऊँ यो मातृभूमिलाई ।

गोकर्णेश्वर, काठमाडौँ