• २२ पुस २०८१, सोमबार

क्याम्पस सञ्चालक समिति अध्यक्ष इजम निर्वाचित

blog

क्याम्पस सञ्चालक समितिमा निर्वाचित पदाधिकारीलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २० गते। ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई) निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमार्फत अर्का प्रत्यासी कुमार मादेनलाई पराजित गर्दै इजम अध्यक्षमा निर्वाचित हुनुएको हो।

निर्वाचन संयोजक रामकुमार थापाकाअनुसार इजमले १८ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी मादेनले १२ मत मात्र प्राप्त गर्नुभएको छ। छ मतको अन्तरले मादेनलाई पराजित गर्नुभएका इजम पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पहिलो महिला अध्यक्षसमेत हुनुभएको छ।

यस्तै शिक्षाप्रेमी महिला सदस्यतर्फ गीताकुमारी सेन्दाङ र मैया न्यौपाने निर्वाचित हुनुभएको छ। सदस्यमा निर्वाचित सेन्दाङले २७ र न्यौपानेले १७ मत प्राप्त गर्नु भएको छ। महिला सदस्यकै प्रत्यासी मातृकादेवी प्रसाईले भने १० मत मात्र प्राप्त गर्नुभएको थियो।

शिक्षाप्रेमी बुद्धिजीवी खस आर्य सदस्यतर्फ टेकनाथ अधिकारी निर्वाचित हुनुभएको छ। सोही कोटाको सदस्यका उम्मेदवार भोलानाथ पौडेललाई पराजित गर्दै अधिकारी निर्वाचित हुनुभएको हो। सदस्यमा निर्वाचित अधिकारीले १९ मत र पराजित पौडेलले १० मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै शिक्षाप्रेमी समाजसेवी बुद्धिजीवी जनजाति सदस्यतर्फ पृथ्वीप्रसाद मादेन निर्वाचित हुनुभएको छ। उहाँ १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने अन्य दुईजना प्रत्यासी हिमकला गुरुङले नौ र रामचन्द्र पोमुले तीन मत मात्र प्राप्त गर्नुभएको निर्वाचित समितिले जनाएको छ। समाजसेवी बुद्धिजीवी दलित सदस्यमा भने सन्तोषकुमार सार्की निर्बिरोध निर्वाचित हुनुभएको समिति संयोजक थापाले जानकारी दिनुभयो। 

यसैगरी, चन्दादाता तथा अक्षयकोषदातातर्फ सदस्यमा कसैको उम्मेदवारी नपरेको क्याम्पस प्रमुख सजन पौडेलले बताउनुभयो। निर्वाचित सञ्चालक समितिको कार्यकाल तीन वर्षको हुने क्याम्पसले जनाएको छ।