• २२ पुस २०८१, सोमबार

लोकनृत्यमा देवीदेवताको चर्चा

blog

तीन दशकअघि मधेशका गाउँसहरमा रामलीला, रासलीलालगायत नाटक मञ्चन हुन्थ्यो । रानी रेशमा, चुहडमल, आल्हा उदल, रानी सौरङ्गा र सदावृक्षलगायत लोकनृत्य ग्रामीण तथा बजार क्षेत्रमा मनोरञ्जनको साधन थियो । अहिले परिस्थिति फेरियो । परम्परागत सांस्कृतिक तथा लोकनृत्यको ठाउँमा युट्युबका गीतमा नृत्य तथा साङ्गीतिक कार्यक्रम हुने गरेका छन् ।

तराई मधेशका गाउँबस्तीमा हरेक उत्सवमा कुनै न कुनै लोकनृत्य मञ्चन हुन्थ्यो । यो अनिवार्य जस्तै थियो । त्यस्ता लोकनाटकका कलाकारले चौपाया चराउन जाँदा सहपाठीबिच संवादको अभ्यास गर्दथे । जलेश्वरका अशोक सिंह त्यो समयका लोकनृत्य र लोकसंस्कृतिको सम्झना ताजै रहेको बताउनुहुन्छ ।

लोकनृत्यका ठाउँमा यतिबेला मधेशका चाडपर्वमा हिन्दी, भोजपुरी, मैथिली आर्केस्ट्रा र रेकर्डिङ नृत्यकै बाहुल्य छ । तीन दशकअघिका लोकनृत्यमा पुरुष नै महिलाको भूमिकामा देखिन्थे । तथापि अहिलेका साङ्गीतिक कार्यक्रममा पुरुष महिला दुवैले सहकार्य गरेको देखिन्छ ।  लोकनृत्य बन्दै चाहिँ भएको छैन । लोकनृत्यका पारखी, लोकसंस्कृतिप्रेमीले ग्रामीण क्षेत्रमा आयोजना हुने पर्व उत्सवमा यस्ता नाच मञ्चन गर्दै आएको पाइन्छ ।  मञ्चमा प्रदर्शन गरिएका यस्ता लोकनृत्यको भिडियो बनाएर आयोजक, नाच पाटीका सञ्चालक अथवा दर्शकले सामाजिक सञ्जाल तथा युट्युबसम्म पुर्‍याएका छन् । प्रविधिको पहुँचसँगै थोरै भए पनि यस्ता लोकनृत्य सर्वत्र हेर्न सकिने अवस्था छ । 

लोकसंस्कृतिको तीन स्तम्भ नाट्य, गीत र नृत्य एउटै मञ्चबाट प्रस्तुत हुने भएकाले नै मधेशको मैथिली, भोजपुरी, अवधी, मगहीलगायत भारतको गङ्गा नदीको समतल भूभागसम्म यसलाई लोकनाट्यभन्दा लोकनृत्य भनेर चिनिन्छ । लोकसंस्कृतिलाई मनोरञ्जनको साधन बनाउन सकिन्छ भनेर नाट्य प्रस्तुतिमा विशेष जोड दिइएको पाइन्छ । यस्ता परम्परागत लोकनृत्य विधाको जन्मदाता, लेखक, प्रणेताबारे खोजखबर हुन सकेको छैन । तथापि नाचका पात्रहरूमा समेटिने लोकदेवतामध्ये अधिकांश काल्पनिक नभई नेपालको दक्षिणी भूभाग तथा गङ्गा नदीको आसपासका क्षेत्रका वास्तविक पात्र र घटनाक्रमसँग सम्बन्धित रहेको पाइन्छ । जसको प्रभाव नेपालको तराई मधेश तथा भारतको राजस्थान, बङ्गालसहितका प्रदेशमा सहजै देख्न सकिन्छ । तत्कालीन घटनाक्रम रूपान्तरण भई अहिलेको भाष्य, कथ्य र मिथक अनुसार लोकनृत्य मञ्चन हुने गरेका छन् । गाउँको सामाजिक परिवेश, परम्परा, अभ्यास र प्रस्तुतिले समेत नाच कलालाई जीवन्त राखेको छ । 

हुनतः समयबारे विवाद रहे पनि इपू ४०० देखि सन् १०० को कुनै समयमा भरतमुनिले नाट्यशास्त्र नामक ग्रन्थ लेखेका थिए । यसमा सर्वप्रथम रस सिद्धान्तको चर्चाका साथै नाट्यशास्त्र, सङ्गीतशास्त्र, छन्दशास्त्र, अलन्कार, रस आदिबारे चर्चा छ । भरतमुनि रचित प्रथम नाटकको प्रस्तुति ’देवासुर सङ्ग्राम’ थियो । लेख्यभन्दा जनश्रृति र प्रस्तुतिबाट आएको लोकनृत्यको इतिहास धेरै पुरानो छ । यो नाच लोकसंस्कृतिकै अङ्ग भएकाले हरेक समुदाय तथा भाषाको आफ्नै मौलिकता छ । मिथिलाको लोकनृत्यमा शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत तथा शान्तसहित नौ वटै रसको प्रयोग भएको पाइन्छ । यसलाई नवरस लोकनृत्यभन्दा अत्युक्ति नहोला ।

आल्हा उदलको सौर्य वीर गाथा सन् १२५० बाट प्रचारप्रसार आएको हो । कवि जागनिकको कविताबाट आल्हा उदल नाचको प्रारम्भ भएको मानिन्छ । चुहडडमलको जन्म सन् १३१३ तथा राजा सलहेसको जन्म सन् १२६८ मा भएको विश्वास गरिन्छ । 

नाचप्रेमी विश्वनाथ साहका अनुसार तीन दशकअघिका मञ्चमा प्रस्तुत हुने नाचमा आल्हा उदल, कुँवर वृजवान, कारिक महाराज, जया विसर, गरू वध, नैनागढ लडाइँ, माधोगढ लडाइँ, मैना गोविन्द, राजा सलहेस, रानी रेशमा, चुहडमल ( कन्हैया), गोपीचन्द, राजा भरथरी, रानी सौरङ्गा सदावृक्ष, रुनुवा झुनुवा वध, वीर क्षेत्री गुगलिया, सती कौवाहकनी, सती विहुला, बहुरी ठकुराइन, शीत वसन्त, सोभिया नाटीन, नटुवा नाच, तोतामैना कहानी, भुकनाभुकनी तथा सौरठी विजोभारलगायत दर्जनौँको सङ्ख्यामा रहेका छन् । सयौँ वर्षअघि प्रस्तुत हुने लोकनृत्यको अवस्था, पात्र, कथाको भाष्य परिवर्तन नभएको होला भन्न गाह्रो छ । 

सलहेस लोकनृत्यमा सूर्यनारायण, हनुमान, भीम, लोकदेवता मीरा सुलतान, बाबा डिहबार गरिनुका साथै जादुटोनाले चरा बनाएको प्रसङ्ग छ । रानी रेशमा र चुहडमलको नाचमा दुर्गाभवानी, सूर्यदेव, इन्द्रदेवको चर्चासँगै जादुटोनाको प्रयोग भएको पाइन्छ । कारिख महाराजलाई सुगा बनाएको, झाँक्रीहरूलाई बकुल्ला बनाएको, गाउँलाई जादुटोनाले सुरक्षित गरेको प्रसङ्ग नाचमा हेर्न सकिन्छ । 

यस प्रकृतिका लोकनृत्य सुरु गर्दा सरस्वती वन्दनादेखि भगवतीको गीतसम्म गाइने गरिन्छ । पात्रहरूले शिव, विष्णु, काली, भगवतीलगायत देवीदेवतासँग आशीर्वाद लिएर प्रतिज्ञा गर्ने, प्रतिज्ञा पूरा गर्न पूजापाठ गर्ने गरिन्छ । जादुटोनाकै चर्चा गर्दा रेशमाले चुहडमललाई मार्न र गाउँलाई तहसनहस पार्न १४ सय बाघिन उत्पन्न गराएको कथामा उल्लेख छ । कारिख महाराजलाई बचाउन बाबा गणिनाथले कागजको रथ तथा उनकी आमाले पछ्यौरी च्यातेर रथ बनाएको नाचमा चर्चा गरिन्छ । 

राजा सलहेस देवी दुर्गाका अन्नय भक्त थिए । प्रत्येक वर्ष सिराहा जिल्लाको फूलबारी मेलामा वैशाख १ गते मालिनसँग भेट गर्न आउने गरेको किंवदन्ती छ । आल्हाले शारदा माताको भक्ति गर्ने गरेको दृश्य नाचमा देखाइने गरिन्छ । शारदा माता मन्दिरमा १२ वर्षसम्म तपस्या गरेर आल्हा शक्तिशाली भएको मान्यता छ । अहिले पनि भारतको मध्यप्रदेशस्थित शारदा मन्दिरमा सबैभन्दा पहिला आल्हाले दर्शन गर्ने गरेको मान्यता छ । आल्हा र उदलले तत्कालीन राजा पृथ्वी चौहान (तृतीय) सँगसमेत युद्ध गरेको इतिहास छ । अजमेर (अजयमेरु) र दिल्लीमाथि शासन गरेका चौहानको जन्म सन् ११७८ तथा मृत्यु सन् ११९२ मा भएको थियो ।

लोकनृत्यका कथाका तत्कालीन पात्रहरू अहिले लोकदेवताका रूपमा मिथिलाञ्चल, सिमाञ्चल, तराई मधेश तथा भारतको विभिन्न क्षेत्र तथा जातिविशेषले पुज्दै आएका छन् । यसरी पुजिनेमा राजा सलहेस, बुधेशर, मोतीराम, लरिकन्हा, दिना, भद्री, चुहडमल, छेछन महाराज, वीर लोरिक, मोतीदाइ, दुलरा दयाल, कृष्णराम, हाथी सुबरन, बिहुला, अमर बाबा, गरिबन बाबा, लालबन बाबा, बन्ठा चमार, खेदरी भुइयाँ, लवहरी, मीरा साहेब (सुलतान), कुसहरी, नैका बन्जारा, भीम केवट, केवल महरा, रैया रनलाल, सान्सिया महाराज, सोनाइ महाराज, खेदन महराज, स्वरूप महराज, श्याम सिंह डोम, गणिनाथ, गोविन्द, कारिख पन्जियार, फेकुराम, बेनीराम, कारू खिरहरी, बाबा भुइयाँ, सोखा, गोरैया, अन्हेरबाट, मलङ्गलगायतका छन् । 

मधेश प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा दर्पण त्रैमासिक बुलेटिन (माघ–चैत २०७९) मा प्रकाशित दलित चेतनाको प्रथम प्रणेता लोकनायक सलहेस विषयक लेखमा दिना, भद्री तथा अन्हेरबाटलाई समकालीन मानिएको छ । धर्मेन्द्र विह्वल लिखित मिथिला मिथकमा शैलेश अर्थात् पर्वतराज जयवर्धन नै कालान्तरमा सहलेस भनेर चर्चा पाएको उल्लेख छ । त्यस्तै डा. चन्देश्वर साह लिखित कारिख महाराज पुस्तकमा कारिख, मीरा सुलतान, गोविन्द समकालीन रहेको चर्चा छ । 

कारिख महाराजले तन्त्रमन्त्र गर्ने जोगिनहरूको कामौर राज्य नष्ट गरेको चर्चा गरिन्छ । कारिख महाराजलाई कामौर राज्य नष्ट गर्न गोविन्द तथा उनका बुवा गणिनाथले सहयोग गरेका थिए । डा. साहले कारिख महाराज पुस्तकमा उल्लेख गरे अनुसार लोकदेवता कारिखको समयकाल सलहेस र चुहडमलभन्दा पछाडिको छ । मकवानी राज्य, पठानले फरक धर्म मान्नेलाई दिएको चुनौतीको समेत चर्चा भएकोले कारिख महाराजलाई १६/१७ औँ शताब्दीको मान्नुपर्ने हुन्छ । अर्कोतर्फ नुजागढको गोरैया महाराज, अग्निकुण्डको सोखा महाराज, महिसौथाको सलहेसले लोकदेवताको मान्यता पाइसकेको देखिन्छ । अन्य लोकदेवताको इतिहासभन्दा कारिखबारे लेखिएको इतिहासमा जातीय छुवाछुतलाई अभ्यास गरेको पढ्न पाइन्छ । सूर्यदेवलाई दीनानाथ, दिनकर, सूर्यनारायणलगायतका दर्जनौँ नामबाट लोकदेवताकै रूपमा पूजा हुने गर्दछ ।

केही लेखकले कारिख महाराजको मित्र गोविन्दको बुवा बाबा गणिनाथको जन्म १० औँ शताब्दीको अन्त्यतिर भएको मान्दै आएका छन् । चन्देल वंशका राजा धङ्गदेव (सन् ९५०–१००३) को छोरी खेम्हासँग बाबा गणिनाथको विवाह भएकोले यो तथ्यमा केही सत्यता पाइन्छ । त्यस्तै राजा सलहेसको जन्म सातौँ/आठौँ शताब्दीको मान्ने गरेकाले लोकनृत्यमा प्रस्तुत गरिने लोकदेवताको जीवनकथा तथा जन्म तिथिबारे एकमत पाइएको छैन । लोकनृत्यमा अधिकांश लोकदेवताको एकअर्कासँग सम्बन्ध देखाइनुले समयकाल निर्धारण गर्न कठिन छ । यी लोकदेवताको कालखण्ड फरक फरक भए पनि लोकनृत्यलाई दर्शकमैत्री बनाउन नयाँ भाष्य, कथ्य र मिथक निर्माण भएको वा गरिएकाबारे थप अध्ययन अनुसन्धान आवश्यक छ । 

अर्कोतर्फ लोकनृत्यमा शक्ति प्रदर्शन गरी तत्कालीन राजामाथि विजय हासिल गरेका, समाजलाई सही बाटोमा लगेकाको पुरुषार्थ अलिक बढी चर्चा गरिन्छ । महिलाको योगदानलाई महत्व नदिइएकै कारण नाचको पात्र नबनेको हुन सक्छ । तसर्थ माता दुर्गा भवानी र उहाँको विभिन्न रूपबाहेक मधेशका विभिन्न स्थानमा लोकदेवीका रूपमा पुजिने विभिन्न माई तथा देवीहरूको खोजखबर, चर्चा र इतिहास लेखन अति आवश्यक छ ।  

Author

राकेशप्रसाद चौधरी