• २२ पुस २०८१, सोमबार

‘थारू समुदायको प्रतिनिधित्व सुनिश्चित’

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य घोराहीमा सुरु भएको माघ सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, पुस २० गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभएको छ । दाङको घोराहीमा शुक्रबारदेखि सुरु भएको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको लुम्बिनी प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभएको हो । 

प्रदेशमा झन्डै १५ प्रतिशत थारू समुदायको जनसङ्ख्या रहेको भन्दै मुख्यमन्त्री आचार्यले राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएकाले निजामती सेवामा प्रवेश गर्न आह्वान गर्नुभयो । त्यसका लागि थारू समुदायले अध्ययनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । 

प्रदेश निजामती सेवा ऐनले थारू समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश निजामती सेवा ऐनले प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौँ ।”

थारू समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको भन्दै उहाँले युवापुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारूलगायत चलनचल्तीका भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्रदेशमा बोलिने थारू, मगर, अवधीलगायतका चलनचल्तीका भाषालाई सरकारी कामकाजी भाषा बनाउने गरी प्रदेश सरकार लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशले अब छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाका रूपमा सम्बोधन गर्छौं ।”