बुटवल समाचारदाता
बुटवल, पुस २० गते । बुटवलमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा सहभागी पाँच सय स्टलमध्ये नेपाल सेरामिक इन्डस्ट्रिज प्रालि प्रथम भएको छ । त्यस्तै कोसेली मूर्तिकला उद्योग द्वितीय, कानुङ बचत तथा ऋण सहकारी संस्था तृतीय र दुर्गा नर्सरी एन्ड कृषि फार्मले सान्त्वना पुरस्कार पाएका छन् ।
विजेतालाई क्रमशः २१ हजार, १५ हजार, १० र पाँच हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
प्रविधितर्फ सूर्यछाप ढाका कपडा उद्योग, कृषितर्फ जैविक कफी तथा मसला प्रशोधन उद्योग अर्घाखाँची र हस्तकलातर्फ नेपाल क्राफ्ट उद्योग प्रथम भएका छन् ।
विजेतालाई सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको हो ।
सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठन गरिएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका आधारमा पुरस्कृत गरिएको हो । चार लाख दर्शकले अवलोकन गर्दै र २५ करोडको कारोबार गर्दै मेला बिहीबार साँझ सकिएको हो ।