ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), पुस २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
चार वर्षअघि दुबईबाट दाजु कृष्ण र भाइ शिव कतारबाट घर फर्किएर पशुपालन थाल्नुभएको हो । चार वटा भैँसीबाट सुरु गरेको पशुपालनमा खड्का दाजुभाइको लगानी अहिले एक करोड रुपियाँभन्दा माथि पुगेको छ ।
धवलागिरि बहुद्देश्यीय कृषि तथा पशुपन्छी फार्म दर्ता गरी पशुपालन र सुन्तला खेती गरेका खड्का दाजुभाइको फार्मबाट अहिले मासिक रूपमा साढे पाँच लाखदेखि छ लाख रुपियाँसम्मको दुध बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक रूपमा दुई लाख रुपियाँसम्म बचत हुने गरेको शिव खड्काले बताउनुभयो । फार्ममा अहिले मुर्रा जातका १५ वटा भैँसी र १० वटा होलिस्टिन जातका गाई छन् ।
एउटा गाईले एक छाकमा आठ लिटर र भैँसीले छ लिटरसम्म दुध दिने खड्काले बताउनुभयो । गाईभैँसीको गरेर दैनिक डेढ सयदेखि दुई सय लिटरसम्म दुध उत्पादन हुने गरेको उहाँले बताउनुभयो । गाईभैँसीमा आज लगानी गरे भोलिदेखि आम्दानी लिन सकिने पेसा भएकाले दाजुभाइले पशुपालन व्यवसाय रोजेको उहाँले बताउनुभयो । दुधको बजारीकरण गर्ने उद्देश्यले गाउँमै सिद्ध बहुद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको छ ।
बाबुबाजेको जग्गाजमिन बाँझै राखेर बिदेसिएका दाजुभाइको प्रदेशमा सोचे जस्तो कमाइ भएन । अरूको देशमा साहुको अधीनमा बसेर काम गर्नुभन्दा आफ्नै माटोमा पसिना बगाउने अठोट लिएर दाजुभाइ स्वदेश फर्किनुभएको थियो । विदेशमा नै दुई भाइले पशुपालन गर्ने योजना बनाएर गाउँ फर्किएको खड्काले बताउनुभयो । दुई भाइ नै विदेश पुगेपछि यहाँको जग्गाजमिन बाँझिन थाल्यो बाउबाजेको जमिन बाँझो बस्दा विदेशमा राम्रोसँग निद्रा लागेन त्यही भएर २६ महिनामा नै गाउँ फर्किएर पशुपालन थालेको खड्काले बताउनुभयो ।
उहाँका अनुसार परिश्रम गर्न सके पशुपालनमा राम्रो आम्दानी लिन सकिने पेसा हो । आफ्नो काम गर्न लाज मान्न नहुने उहाँको भनाइ छ । भाइ शिव खड्काले भन्नुभयो, “गोबर फाल्ने, गाईभैँसीको स्याहारसुसार, घाँस काट्ने, मोटरसाइकलबाट दुध घर घरमा पु¥याउनेलगायतका काम आफैँ गर्छौं ।”
परिवारका चार जना सदस्य र थप दुई जना कामदार गरेर छ जना दैनिक काम खटिने उहाँको भनाइ छ । “विदेश गएर अरूको काम गर्दा आत्मसन्तुष्टि मिलेको थिएन । अहिले परिवार सबै जना मिलेर पशुपालनमा काम गर्दा आत्मसम्मानका साथै सन्तुष्टि पनि मिलेको छ । विदेशभन्दा हामी दाजुभाइलाई यही रमाइलो लागेको छ,” उहाँले भन्नुभयो ।
खड्का दाजुभाइले गाउँपालिका केन्द्र पोखरे बगरमा दुध बेच्न डेरी पसलसमेत खोल्नुभएको छ । डेरीबाट दुधका साथै चिज, पनिर दही बिक्री हुन्छ । पोखरे बगर, भुरुङ–तातोपानी, नारच्याङ र जोमसोमसम्म दुध बेचिने खड्काले बताउनुभयो । प्रतिलिटर १२० रुपियाँमा दुध बेच्ने गरेको उहाँको भनाइ छ । अहिले उहाँहरूको बजार मुस्ताङसम्म पनि विस्तार भएकाले दुधको माग अनुसार पु¥याउन कठिन भएको छ । दुधको माग बढेसँगै पशुपालन व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको खड्काले बताउनुभयो ।
४५ रोपनी क्षेत्रफल भएको जमिनमध्ये २५ रोपनीमा खड्का दाजुभाइले सुन्तला खेती गर्नुभएको छ भने बाँकीमा गाईभैँसीलाई आवश्यक पर्ने घाँस लगाउनुभएको छ ।