• २२ पुस २०८१, सोमबार

निक्षेप फिर्ता गर्दै समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २० गते । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कले निक्षेप फिर्ता गर्न थालेको छ । समस्याग्रस्त घोषणापछि नेपाल राष्ट्र बैङ्कको नियन्त्रणमा रहेको सो बैङ्कले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपियाँका दरले रकम भुक्तानी गर्न थालेको हो ।

बैङ्कका विभिन्न १६ शाखाबाट निक्षेप फिर्ता गरेको बैङ्कले पुस १८ गते बिहीबार १९ शाखाबाट रकम फिर्ता गरिरहेको जनाएको छ । 

कर्णाली डेभलपमेन्ट बैङ्कले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको भन्दै राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैङ्कले उक्त संस्था सञ्चालनका निम्ति बैङ्क तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह पठाएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा सदस्य रहनुभएको छ । समूहले गत पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हालेको हो ।

व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तनी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको डिडिए सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका अख्तियारी प्रदान गरिएको छ ।

नेपालगन्जको बाँकेमा मुख्य कार्यालय रहेको बैङ्कका बाँके, बर्दिया, दाङ, तुलसीपुर, लमही, गुलरिया, बाँसगढी, भुरीगाउँ, घोराही, कोहलपुर, खजुरा, सानोश्री, भालुवाङ, गढवा, राजापुर, ठाकुरद्वारा, नारायणपुर र सिसहनियामा गरेर १६ वटा शाखाबाट निक्षेप भुक्तानी लिन बैङ्कले आग्रह गरेको छ ।