सिराज खान
नेपालगन्ज, पुस १९ गते। नेपालगन्जमा शुक्रबारदेखि सातौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालगन्जको व्यवस्थापनमा नेपालगन्ज रङ्गशालामा सो प्रतियोगिता सुरु भएको हो।
तीन दिनसम्म चल्ने सो प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले गर्नुभयो।
नेपालगन्जका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपमहानगरका ४४ वटा माध्यमिक र केही आधारभूत तहका विद्यालयले मार्च पास गरेका थिए।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री अग्रवाल, नेपालगन्जका मेयर विष्ट, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, मङ्गलप्रसाद माविकी प्रधानाध्यापक सन्ध्या गुप्ता र फुल्टेक्रा माविकी प्रधानाध्यापक शान्ति कँडेलले खेलकुदले अनुशासित, मेहनती र कर्तव्यनिष्ठ बनाउन प्रेरित गर्ने भएकाले विद्यालयस्तरदेखि नै खेलकुद गतिविधि र प्रतियोगिता बढी भन्दा बढी हुनुपर्नेमा जोड दिनुभयो।