• २१ पुस २०८१, आइतबार

चिसोले सर्वसाधारणको जनजीवन कष्टकर

blog

चिासो छल्न आगो ताप्दै सर्वसाधारण । तस्बिर : सञ्जयकुमार मिश्र

सञ्जयकुमार मिश्र
गौर, पुस १९ गते ।
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर भएको छ ।दुई–तीनदेखि बिहान बेलुका लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

चिसोका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारणको सङ्ख्यामा कमी आएको छ भने अति आवश्यक कार्य बाहेक घर बाहिर निस्कन छाडेका छन् । साथै चिसोले बजारमा सर्वसाधारणको उपस्थिति न्यून रहेको तथा सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ  ।

यसैगरी, चिसोका कारण अस्पतालमा बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । जाडोले ग्रसित भएका बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि अस्पताल आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

उपचारका लागि अस्पताल आउने बालबालिकाहरुमा निमोनिया, कोल्ड डायरिया तथा युवा वृद्धाहरुमा दम खोकीलगायतका बिरामीहरुमा बढी आउने गरेको प्रादेशिक अस्पताल गौरका इमरेन्जी फाँटका प्रमुख चिकित्सक मनोज ठाकुरले बताउनुभयो ।

चिसो छल्न बिना काम घर बाहिर ननिस्कन, उनी कपडा, कम्बल तथा आगो ताप्न सर्वसधारणलाई आग्रह गर्नुहुँदै चिकित्सक ठाकुरले तातो पानीको सेवनसँगै पोषिलो तथा ताजा खान खान सल्लाह दिनुभयो ।

यसैगरी दिनानुदिन बढ्दै गएको चिसोबाट सर्वसाधारणलाई जोगाउन बजारिया क्षेत्र तथा नगरक्षेत्रभित्र आगो ताप्न दाउराको व्यवस्था मिलाउन १८ वटै पालिकासँग नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरीले माग गर्नुभयो ।