• २१ पुस २०८१, आइतबार

निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढीले लिए सेवा

blog

शिविरबाट स्वास्थ्य सेवा लिन लामबध बसेकाहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, पुस १९ गते । सुनसरीको रामधुनी नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटिमण्डप, काठमाडौंको आयोजना तथा रामधुनी नगरपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।

शुक्रबार रामधुनी नगरपालिका १ को निर्माणाधीन झुम्का आधारभूत अस्पतालको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा ४०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष र सप्तकोशी न्यूरो हस्पिटल भोक्राहा, सुनसरीको प्राविधिक सहयोगमा नगरका स्थानीयला सेवा दिएको बताउनुभयो । कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफूहरुले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर रामधुनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा झुम्कामा स्वास्थ्य शिविर गरेको बताउनुभयो ।

कोषको सहयोगमा सुनसरीमा पहिलोपटक आयोजना गरेको शिविरमा चार सय जना बढीले स्वास्थ्य जाँच, परीक्षण तथा निशुल्क शिविर गरेको न्यौपानेले जानकारी दिनुभयो । रामधुनी वडा नं १ मा निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अस्पतालसम्म पहुँच नपुगेका नागरिक तथा बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि सप्तकोशी न्युरो अस्पतालका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ । 

सप्तकोशी न्यूरो अस्पतालका विशेषज्ञहरू डा. रामबाबु गिरी,वरिष्ठ न्यूरो सर्जन , डा. माधवदेव,वरिष्ठ जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन, डा. मिराज आलम, डा. हरिशङ्कर यादव, डा. अमितकुमार शाह, डा. पुष्कर निरौला, डा. पूजा दास ,डा. उरुसा साहसहितले सेवा दिनुभएको थियो । 

शिविरमा निःशुल्क बिरामी जाँच, ई.सी.जी, एक्स–रे सहितको सेवा दिएको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले जानकारी दिनुभयो । आधा दर्जन चिकित्सकहरुको सहभागितामा सञ्चालित शिविरबाट नगरका चार सय जनाभन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन् । शिविरबाट विभिन्न सात प्रकारका सेवा उपलब्ध गराएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधीसमेत वितरण गरिएको थियो ।