• २१ पुस २०८१, आइतबार

विष्णुमती करिडोर ट्रयाक खन्ने कार्य सुरु

blog

स्वास्थ्यमन्त्री प्रदीप पौडेल बुढानिलकण्ठ र टोखा नगरपालिका क्षेत्रको सीमानामा विष्णुमति करिडोरको ट्रयाक खन्ने कार्यको सुरुवात गर्नुहुँदै । तस्बिर : मन्त्री पौडेलको सचिवालय

काठमाडौं, पुस १९ गते । काठमाडौं ५ को बूढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्रयाक खोल्ने कार्य सुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गर्नुभएको छ ।

हाल सङ्घीय सरकारबाट एक करोड विनियोजन गरी सुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताउनुभयो ।

‘‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ ।’’

बूढानीलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम सुरु भएको छ ।

हाल बूढानीलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट शुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्‍याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गर्नुभएकाे थियाे । 

शिलान्यास कार्यक्रममा बागमती प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो । उहाँहरुले विकास निर्माणका लागि तीन वटै तहबिच समन्वय र सहभागिता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बूढानीलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बूढानीलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवम् स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताउनुभयो । ‘‘बूढानीलकण्ठमा काम सुरु हुने योजना थियो,’’ उहाँले भन्नुभयो, ‘‘मन्त्रीज्यूको पहलमा टोखामा पनि एकैसाथ काम सुरु भएको छ । यसमा बजेट थप गर्न सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।’’

करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि सुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताउनुभयो ।