सुजन काफ्ले
चरीकोट, पुस १८ गते । बागमती प्रदेश सरकारको लगानीमा दोलखामा २ सडक योजना कालोपत्रे गरिएको छ । जिल्लाको कालिन्चोक गाउँपालिकामा सुनखानी साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
भौगोलिक रूपमा विकट रहेको कालिन्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सो सडक कालोपत्रे गरिएको हो । सो सडक कालोपत्रे गरिएसँगै कालिन्चोक गाउँपालिकाका ५ वटा वडा र बिगु गाउँपालिका आवतजावत गर्न स्थानीयहरूलाई सहज भएको हो ।
त्यसैगरी प्रदेश सरकारकै लगानी चरीकोट देउराली करिब ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने कार्य सम्पन्न भएको छ । सो सडक कालोपत्रे भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक भगवती मन्दिर दर्शन गर्न आउने पर्यटकहरूलाई सहज हुने भएको हो । सोही सडक हुँदै देउरालीदेखि कालिन्चोक पुग्ने बाँकी सडक खण्डसमेत निर्माण धमाधम भइरहेको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत दोलखाका करिब एक दर्जन ठुला सडक आगामी वर्षभित्र सम्पन्न हुने गरी काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । प्रदेश सरकारकै लगानीमा पर्यटकियस्थल शैलुङ प्रवेश गर्ने मुडे–बाघखोर–कालापानी ९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडक पनि धमाधम निमार्ण कार्य भइरहको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताउनुभयो । सो सडक कालोपत्रे भएसँगै सिन्धुपाल्चोक मुडे हुँदै शैलुङ आवजावत गर्न सहज हुने भएको छ ।
सडक कालोपत्रे भएसँगै कृषि उत्पादनले मुख्य क्षेत्र मानिने शैलुङ गाउँपालिका उत्पादन गरिएको आलु, काउली किवी सहजै बजार पुर्याउन सकिने भएपछि किसानहरू खुसी भएका छन् । तामाकोसी गाउँपालिकाको भिरकोट हुँदै झुले छौडे जाने सडक ढलान गर्ने कार्य धमाधम भइरहेको छ । सिद्धाको थान–जुँगु–झ्याँकु सडकमा स्तरोन्नति भइरहेको छ । त्यस्तै, दोलखाको दक्षिणी क्षेत्रको मुख्य मार्ग सितली–मेलुङ–माने बुद्धचोक सडक पनि प्रदेशकै लगानीमा निमार्ण सम्पन्न भएको छ ।
लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउरालीसम्म कालोपत्रे भएको छ भने सोही सडक खण्डको सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । त्यस्तै, जिरी–ठोसे शिवालय सडक पनि कालोपत्रेको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा नै दोलखामा कार्यालय स्थापना गरिएको थियो ।
कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटकपटक ताकेता गरेर निमार्ण सुरु गराईउएको कार्यालय प्रमुख ओझाले बताउनुभयो। उहाँले भन्नुभयो, "प्रदेश सरकारका लगानीमा ग्रामीण क्षेत्रका सडकहरू पनि स्तोरोन्नती र ढलान कार्य धमाधम भइरहेको छ ।"
बागमती प्रदेशको लगानीमा सिँगटी–लादुक–बुलुङ सडक निर्माण धमाधम भइरहेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले आधा दर्जन सडक बहुवर्षीय आयोजनाका रूपमाअघि बढाउने योजना बनाएको छ । त्यसैगरी प्रदेश सरकारकै लगानीमा २ वटा पुल निमार्ण सम्पन्न भएको र बाँकी ३ वटा पुल निमार्णाधीन रहेको कार्यालय ईन्जिनियर टंक तिवारीले बताउनुभयो ।
गौरीशंकर गाउँपालिकामा २५ मिटर लामो तिनेखु पुल र जिरी नगरपालिका १ मा पनि २५ मिटर पक्की पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा २५ मिटर लामो तिन वटा पक्की पुल निमार्णाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सडकलाई पहिलो प्राथमिकता दिँदै अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, "सङ्घीयतापछि जिल्लाबाट गुमेको कार्यलय चालु आर्थिक वर्षमा नै स्थापना गर्यौं, कार्यालय स्थापना भएसँगै विकास निर्माणको काममा सहजता पनि भएको छ, अब सडकको विकासले फड्को मार्छ ।"
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विज्ञान जस्ता क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गर्दै आएको बताउँदै मन्त्री काफ्लेले विभिन्न दर्जनौँ आयोजना सञ्चालनमा रहेको बताउनुभयो ।