म्याग्दी, पुस १८ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेँसीमा रु एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसीगाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
विद्यालय, स्वास्थ्यचौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ । गोर्खा वेयलफेयरको रु ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ ।
आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्याङ्की, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ । रासस