• २० पुस २०८१, शनिबार

आठ बस्ती उच्च जोखिममा

blog

राजन रावत

हुम्ला, पुस १८ गते । जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका वडा नं. १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले ताँजाकोटका विभिन्न आठ वटा बस्ती भिरालो जमिनमा भएकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो । 

ताँजाकोट गाउँपालिका–१ को कोलपेल्ना, २ को दलितबाडा, ३ को भ्यालबाडा, र रोकायाबाडा, ४ को ओखडेना, ५ लोटपाटा र दलितबाडा बस्ती पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै ताँजाकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको उहाँले बताउनुभयो । साथै उक्त बस्ती स्थानान्तरणका लागि भूगर्भविद् र अन्य दक्ष प्राविधिकसहितको टोलीबाट स्थलगत अध्ययनका लागि गृह मन्त्रालय विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखा र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकमा जिल्लामा विभिन्न समयमा हुन सक्ने विपत्का घट्ना र त्यसको पूर्वतयारीका विषयमा छलफल भएको थियो । जिल्ला विपत् व्यवस्थापन समितिका यसअघिका बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा एवं विश्लेषण गरिएको हो । जाडोयाम सुरु भइसकेकाले जनजीवनसमेत प्रभावित हुन सक्ने हुँदा हिमपातबाट अवरुद्ध हुने खानेपानी, विद्युत्, सिँचाइ, सञ्चार, यातायात जस्ता अतिआवश्यक सेवाको तत्काल मर्मतसम्भार गरी सेवा नियमित गर्न सम्बन्धित सेवा सञ्चालन गर्न कार्यालय तयारी अवस्थामा रहनुपर्ने निर्णय गरिएको छ । हिमपातबाट प्रभावितको तत्काल खोज, उद्धार, राहतलगायतका समग्र विपत् व्यवस्थापनसम्बन्धी कार्यका लागि सम्पूर्ण सुरक्षा निकाय पूर्वतयारीमा रहने निर्र्णयसमेत बैठकले गरेको छ । 

बैठकले विपत्का घटनाबाट २०८१ साउन १ देखि पुस १५ गतेसम्म प्रभावित २५ परिवारलाई जिल्ला विपत् व्यवस्थापन कोषबाट उपलब्ध गराइएको राहत रकम तीन लाख ३० हजार रुपियाँ अनुमोदन गरेको छ । पूर्ण क्षति भई आफू बसोबास गर्दै आएका घरलगायतका संरचना गुमाएका परिवारलाई १५ हजार रुपियाँका दरले राहत उपलब्ध गराइएको हो । मङ्सिर २६ गते सर्केगाड गाउँपालिका–७ को रोडीकोट र सिमकोट गाउँपालिका–८ को याङ्गु गाउँका आगलागीपीडितको घर पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रिय विपत् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारिस पठाउने निर्णय भएको छ ।