• २० पुस २०८१, शनिबार

देशले खोजे जस्तो गीत : प्रधानमन्त्री ओली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कन्दरा ब्यान्डको नयाँ गीत ‘हुने छ : दी सङ अफ होप’ सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार गीत सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।” प्रधानमन्त्री ओलीले गायक विवेकलाई धन्यवाद दिनुहुँदै सन् २०२५ बाट प्रारम्भ गर्न थालेको कन्दराको विश्व भ्रमणका लागि पनि शुभकामना दिनुभएको थियो ।

गायक श्रेष्ठले गीतले नेपालीमाझ सकारात्मक सम्भावनाको विम्ब प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने छ ।” 

सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिलाई समेटेर गीत तयार पारिएको हो । गीत राष्ट्रभक्तका लागि विशेष सान्दर्भिक छ । यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थिति, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न गीतले प्रेरित गर्छ । आशावादी बन्न, एकजुट भएर काम गर्न प्रेरित गर्ने यस गीतले देशको रूपान्तरणका लागि व्यक्तिगत परिवर्तनको महत्वलाई उजागर गर्दै विभाजन र द्वन्द्वले होइन एकताले हामीलाई बलियो बनाउँछ भन्ने गीतको सन्देश छ ।

गीतमा शब्द तथा सङ्गीत सुनील थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पार्नुभएको हो । गीतको सम्पादन मधु सन्जेलले गर्नुभएको छ भने भिएफएक्स बमबहादुर थापाको रहेको छ । गीतको निर्माणमा रेडियो नेपाल, स्टुडियो प्रोजेक्ट प्रोडक्सन र डिएलसी स्टुडियोले सहकार्य गरेका छन् । गीतको कला निर्देशन सन्तोष देवकोटा र पोस्टर र प्रचारप्रसार रोयल भीमसेनले तयार पार्नुभएको हो ।