गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १८ गते । चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर चलचित्रका मुख्य पात्र दयाहाङ राईलाई समाजमै एक्लो बनाउने चेतावनीबाट सुरु हुन्छ । त्यसपछि ट्रेलरले मनको तितो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ ।
रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने सङ्घर्ष र सम्झौतालाई देखाउँछ । अन्धविश्वास, परिवारको माया, अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ । ट्रेलरले निर्दयी समाजले अभाव र दुःखमा बाँचिरहेको परिवारलाई कसरी भिरको फर्सी बनाउँछ, त्यो देखाएको छ । पुस २६ गते प्रदर्शन हुने चलचित्र यम शेर्पाको पहिलो निर्देशकीय चलचित्र हो । चलचित्र ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताउनुभयो । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्ने छ ।
चलचित्रमा सिर्जना निङलेखुसँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को प्रस्तुतिमा बनेको चलचित्रका निर्माता तथा छायाकार पनि प्रधान हुनुहुन्छ ।