• २० पुस २०८१, शनिबार

मानव सेवा आश्रमका असहायलाई सिरक बितरण

blog

कम्बल बितरण गर्दै वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. निना श्रेष्ठ ।

सिराज खान 

नेपालगन्ज, पुस १७ गते । गत केही दिन यता बढ्दै गएको जाडोलाई ध्यानमा राखेर गोपाल निना फाउन्डेसन बाँकेले यहाँस्थित मानव सेवा आश्रममा रहनु भएका ५२ असहायहरुलाई न्यानो सिरक र लुगा बितरण गरेको छ । 

फाउन्डेसनले आश्रममा रहनु भएका असहाय बृद्धबृद्धालाई जाडोबाट जोगाउन ५१ थान न्यानो सिरक र एकजना पाँच बर्षीय सानो बालिकालाई एक जोडा न्यानो कपडा सहयोग गरेको गोपाल निना फाउन्डेसनका अध्यक्ष डा. गौरब श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार दिनानुदिन चिसो बढ्दै गएकाले अंग्रेजी नयाँ बर्ष तथा राष्टिय टोपी दिवसको अवसर पारेर बुधवार आश्रममा रहेका असहायलाई चिसोबाट जोगाउन फाउन्डेसनले सिरक वितरण गर्नुका साथै एक छाक खाना खुवाएको छ ।

मानव सेवा आश्रम नेपालगन्ज शाखाका प्रमुख उर्विन सापकोटाले कुनै विदेशी दातृसंस्थाको सहयोगबिना मानवीय भावनाबाट पे्ररित महानुभाव र संघ संस्थाहरुको सहयोगमा नेपालका १९ जिल्लाका २३ आश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

उहाँले आश्रितहरुका लागि औषधी उपचार र नियमित स्वास्थ्य परीक्षणको खाँचो भएको औंल्याउनुभयो । हाल आश्रममा ५२ जना सडक आश्रित, बेसहारा, अशक्त असहाय, अनाथ, अभिभावकविहिन शारीरिक तथा मानसिक रूपमा कमजोर भएका मानवहरुले आश्रय लिइरहेको उहाँले जानकारी दिनुभयो ।

गोपाल निना फाउन्डेसनका कार्यालय प्रमुख दिलिप गिरिको संयोजकत्वमा भएको कम्बल हस्तान्तरण कार्यक्रममा गोपाल निना फाउन्डेसनका अभिभावक तथा नेपालकै प्रसिद्ध स्त्रीरोग बिशेषज्ञ डा. निना श्रेष्ठ, फाउन्डेसनका अध्यक्ष डा. गौरब श्रेष्ठ, डा. तृप्तीपाल रमण, वरिष्ठ पत्रकार पुर्णलाल चुके, लोकनाथ शर्मा, बिपुल बर्मा, प्रतिभा पौडेल, अनुप सुवेदी, अनुप अर्याल र पुस्पा भुसाल लगायतको उपस्थिति थियो ।