काठमाडौँ, पुस १७ गते । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।
प्रेस चौतारी नेपालको आज बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।
उहाँले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ केन्द्रीत हुने बताउनुभयो ।
महाधिवेशनअघि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ । उहाँका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ । रासस