• २० पुस २०८१, शनिबार

मोरङमा हात्ती आतङ्क

blog

हरि कोइराला

उर्लाबारी, पुस १७ गते । मोरङको उर्लाबारी ४ थापाडाँगी र आसपासका गाउँमा रातभर हात्तीले दु:ख दिन थालेको छ । मङ्गलबार राति १२ बजेपछि सोमबार बिहान ४ बजेसम्म थापाडाँगी र आसपासका छ वटा घरमा हात्तीले आक्रमण गरी क्षति पु¥याएको उर्लाबारी– ४ का वडाध्यक्ष कल्याणकुमार राईले बताउनुभयो । 

वडाध्यक्ष राईका अनुसार डिल्लीराम खतिवडाको घरको भान्साघर भत्काएको छ । यस्तै खड्गप्रसाद खतिवडाको जस्तापाताले बेरेको बार भत्काएर भकारीको धान खाएको छ । यसैगरी नवराज भट्टराई, पिताम्वर पौडेलको घरको बेरा भत्काएर अन्न खाएको छ । लक्ष्मी मरिकको घरको बरण्डा भत्काइदिएको छ । घरमा केही नभएकोले लक्ष्मीको घरमा मात्र क्षति पुगेको वडाध्यक्ष राईले बताउनुभयो । 

पश्चिम तर्फबाट आएका दुई वटा हात्तीले रातभर दुख दिएको खड्गप्रसाद खतिवडाले बताउनुभयो । स्थानीय, प्रहरी र नगर प्रहरीले हात्ती जङ्गल तर्फ भगाएपनि रात परेपछि हात्तीहरू आहाराको खोजिमा गाउँ पस्ने गरेको वडाध्यक्ष कल्याणकुमार राईले बताउनुभयो । 

मोरङमा हात्तीको आक्रमणबाट पुस ७ गते र पुस १५ गते सुन्दरहरैँचाका दुई जना महिलाको मृत्यु भइसकेको छ  ।