चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङमा चार हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्रका विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।
प्रतिष्ठानले मङ्गलबार एकदिने शिविर आयोजना गरी फुङ्लिङका विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटु परीक्षण गरेको हो । प्रतिष्ठानको ताप्लेजुङ शाखाका सभापति इन्द्रबहादुर गुरुङ फुङ्लिङ नगरपालिकाभित्रका ३९ वटा विद्यालयमा अध्ययनरत चार हजार २४७ जना विद्यार्थीको मुटु परीक्षण गरिएको छ ।
शिविरमार्फत मुटु परीक्षण गरिएका कुल सङ्ख्यामध्ये ३३ जनामा मुटुको समस्या भेटिएको छ । जसमा मुटुसम्बन्धी गम्भीर समस्या भएका १० जना विद्यार्थीको शल्यक्रिया नै गर्नुपर्ने अवस्था फेला परेको शाखा सभापति गुरुङले जानकारी दिनुभयो ।
यस्तै दश जनाले नियमित औषधी सेवन गर्नुपर्ने प्रकृतिको समस्या र १३ जना विद्यार्थीको एक वर्षपछि पुनः मुटु परीक्षण गर्नुपर्ने देखिएको प्रतिष्ठानका पूर्वअध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले बताउनुभयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखाको समन्वयमा फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र युवावर्ष माध्यमिक विद्यालयमा मङ्गलबार एकै दिन शिविर सञ्चालन गरी विद्यार्थीको मुटु गरिएको थियो । फुङ्लिङका सामुदायिक विद्यालय कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीको मुटु परीक्षण गरिएको प्रतिष्ठानका जिल्ला शाखा सचिव कमलप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार शिविरमा मुटुरोग विशेषज्ञ चिकित्सकहरुको सहभागिता थियो ।
यता शिविरमार्फत शल्यक्रिया गर्नेगरी मुटुको रोग पहिचान भएका बालबालिकाको प्रतिष्ठानले निःशुल्क शल्यक्रियासहित उपचारमा सहयोग गर्ने पनि शाखा सचिव भट्टराईले जानकारी दिनुभयो ।